गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो। सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ।
सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु २५ कायम गरिएको छ। यसअघि ठूलो अण्डा रु ४८५ र मध्यम अण्डा रु ४३५ कायम गरिएको उनले बताए। नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताए।
उनले भने, ‘किसान कुखुरापालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ।’
अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताए। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य जारी गर्दै आएको उनले जानकारी दिए।
फार्महरूको मूल्यलाई समायोजन गरेर समर्थन मूल्य जारी गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए। उनका अनुसार दाउन्ने एग्रो फार्म नवलपरासीको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९५० र मझौला रु तीन हजार ७५०, हिमचुली पोल्ट्री नवलपरासीको ठूलो अण्डा रु तीन हजार ९६० र मझौता तीन हजार ७६०, खिलुङ्ग एग्रो स्याङ्जाको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९७०, मझौता रु तीन हजार ७७०, जनकपुर एग्रो जनकपुरको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९८०, मझौता रु तीन हजार ७८५, पूर्वाञ्चल पोल्ट्र विराटनगरको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९८०, मझौता रु तीन हजार ७७० कायम गरिएको छ।
त्यस्तै सुविसरकाठमाडौँ त्रिशूलीको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९६०, मझौता रु तीन हजार ७५०, मोडेल पोल्ट्री चितवनको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९५०, मझौता रु तीन हजार ७५५ र एनएमए पोल्ट्री झापाको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९५०, मझौता रु तीन हजार ७६० कायम गरिएको सचिव पोखरेलले जानकारी दिए। उनका अनुसार एउटा पेटीमा सात क्रेट (२१० अण्डा) हुन्छन्।
Shares

प्रतिक्रिया