कारोबार


लकडाउनमा स्वास्थ्यसम्बन्धी दर्जनसहित दर्ता भए १ सय ४४ कम्पनी

लकडाउनमा स्वास्थ्यसम्बन्धी दर्जनसहित दर्ता भए १ सय ४४ कम्पनी

सन्तोष न्यौपाने
असार २५, २०७७ बिहिबार १०:७,

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सेनिटाइजर र मास्कजस्ता उद्योगमा उल्लेख्य लगानी थपिएको छ। लकडाउन झण्डै तीन महिनाको अवधिमा सानादेखि ठूला लगानीका उद्योगहरु खुलेका हुन्।

कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार रामप्रसाद ढकालका अनुसार लकडाउनको अवधिमा १ सय ४४ कम्पनी दर्ता भएका छन्। यसमध्ये एक दर्जन स्वास्थ्यसम्बन्धी रहेका छन्।

‘चैत १२ देखि जेठ २५ सम्मको अवधिमा यी उद्योग दर्ता भएका हुन्’, ढकालले भने, ‘यी कम्पनीमध्ये १२ वटा मेडिकल सम्बन्धित छन्।’

१२ वटा स्वास्थ्यसम्बन्धी उद्योगहरुमा सेनिटाइजर, मास्कलगायत अन्य औषधि कम्पनी पनि रहेका छन्। लकडाउन सुरु भएसँगै कम्पनी रजिष्ट्रारको कार्यालयले स्वास्थ्यसम्बन्धी कम्पनीहरु मात्र दर्ता गरेको थियो।

कर्मचारी उपलब्धतामा कमी र आम मानिसलाई पनि आवतजावत गर्न कठिनाइ भएका कारण अन्य कम्पनी दर्ता भएको थिएन। पछि लकडाउन लम्बिँदै गएपछि कार्यालयले अन्य कम्पनी दर्ता पनि सुरु गरेको थियो।

‘हामीले लकडाउनको अवधिमा पनि सकेसम्म कम्पनी दर्ता गरेका थियौँ’, ढकालले भने, ‘त्यसकारण पनि यति धेरै कम्पनी दर्ता भएको देखिन्छ।’

वैशाखसम्मको तथ्यांक हेर्ने हो भने गत वर्षको तुलनामा कम्पनी दर्ता झण्डै २० प्रतिशतले घटेको छ।

चालू आर्थिक वर्ष २०७६/०७७ को वैशाखसम्म १७ हजार ४ सय ९१ कम्पनी दर्ता भएका छन्। जुन गत आर्थिक वर्षको तुलनामा १९.६ प्रतिशतले कमी हो।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या २१ हजार ७ सय ५६ रहेको थियो। कोरोना भाइरसको जोखिम र लकडाउनका कारण कम्पनी दर्ताको संख्या घटेको कार्यालयको भनाइ छ।

त्यस्तै, लकडाउनको अवधिमा सेनिटाइजर र मास्क उत्पादन गर्ने उद्योगहरुले आफ्नो उत्पादन सुरु गरेका छन्। यस अवधिमा उद्योग विभागबाट ३ वटा सेनिटाइजर र एउटा मास्क उत्पादन गर्ने उद्योग दर्ता भएका छन्।

उद्योग विभागका निर्देशक प्रेम लुइँटेलका अनुसार ठूलो लगानीका एउटा मास्क उद्योग र तीन वटा सेनिटाइजर दर्ता भएको बताए।

‘लकडाउनको अवधिमा जगदम्बा ग्रुपले मास्क उद्योग दर्ता गरेको छ’, लुइँटेलले भने, ‘जगदम्बाले २० करोडको लागतमा एन९५ मास्क बनाउने भनेर स्वीकृति लिएको छ।’

त्यस्तै, लकडाउनको अवधिमा एउटा स्वदेश साबुन उद्योगले सेनिटाइजर उत्पादन पनि गर्ने भनेर दर्ता गरेको छ। हिमालयन हाइजिनले पनि आफ्नो उद्योगमा सेनिटाइजर पनि थप गर्ने भनेर निवेदन दिएको छ।

लकडाउनको अवधिमा मुलुकभर मास्क उत्पादन र सेनिटाइजर उत्पादन गर्ने उद्योगहरुको संख्या धेरै छन्।

लकडाउन सुरु भएसँगै मास्क उत्पादन सुरु गरेका व्यवसायी दिपक मल्होत्राले पछिल्ला दिनमा मुलुकभर १० वटा साना ठूला मास्क उत्पादन उद्योग थपिएको बताए।

काठमाडौं उपत्यकासहित विराटनगरमा पनि पनि मास्क उत्पादन सुरु भएका छन्।

उद्योग विभागमा १० करोडभन्दा धेरै स्थिर पुँजी भएको उद्योग दर्ता हुन्छन्। त्यसभन्दा कम स्थिर पुँजी भएका उद्योगहरु भने घरेलु उद्योगमा दर्ता हुने हुन्छन्।

‘घरेलु उद्योगहरु प्रदेशमातहतमा रहेका छन्’, लुइँटेलले नेपालखबरसँग भने, ‘मास्क र सेनिटाइजर उद्योग १० करोडभन्दा सानो पुँजी हुने भएकाले विभिन्न घरेलु उद्योग कार्यालयमा दर्ता भएका होलान्।’

मास्क तथा सेनिटाइजरजस्ता उद्योगहरु १० करोडभन्दा तलका पुँजीमा सञ्चालन हुने भएकाले त्यस्ता उद्योग प्रदेशका घरेलु कार्यालयमा दर्ता भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad