कारोबार


जनप्रतिनिधिको उदाहरणीय कामः वडाध्यक्षसहित तीन जनाले गर्दै छन् कुखुरा, हाँस र माछापालन

जनप्रतिनिधिको उदाहरणीय कामः वडाध्यक्षसहित तीन जनाले गर्दै छन् कुखुरा, हाँस र माछापालन

प्रकाश न्यौपाने
भदौ २४, २०७७ बुधबार ६:४९,

दुई जना साथीसँग मिलेर रुपन्देहीको शुद्धोधन गाउँपालिका–३, का वडा अध्यक्ष हेमबहादुर खड्का (शिव) व्यावसायिक कृषिमा होमिएका छन्।

शुद्धोधन–४, जुगडिहवामा फर्साटिकर एग्रो एण्ड रिसर्च सेन्टर प्रालि खोलेर अध्यक्ष खड्कासँगै उनका साथीहरु बालकृष्ण पराजुली र खोमबहादुर केसीले अहिले दुई हजार लोकल कखुरा हुर्काइरहेका हुन्।

फार्ममा घाँटी खुइले, उल्टे, सुल्टे, कडकनाथलगायत स्थानीय जातका कुखुरा पालिएको छ।

‘खानालाई स्वादिष्ट, माग बढी, आम्दानी राम्रो भएकाले हामीले लोकल कुखुरालाई प्राथमिकतामा राखेर पालेका हौँ’, खड्का भन्छन्।

kukhura palan suddhodhan 1

अघिल्लो वर्षदेखि तीन बिघा जमिन भाडामा लिएर दुई करोड लगानीमा उनीहरुले व्यावसायिक कृषिफार्म सुरु गरेका हुन्। लोकल कुखुरासँगै फार्ममा उनीहरुले ७ सय चाइनिज हाँस, ४ वटा पोखरीमा २५ हजार माछाका भुरा, विभिन्न जातका ८० वटा बाख्रासमेत पालिरहेका छन्।

फार्मबाट लोकल कुखुरा र हाँसका चल्ला तथा अण्डा उत्पादन गरी बिक्री पनि गर्दै आएका छन्। मासुका लागि सबैभन्दा राम्रो माग कुखुराको छ। यसले उनीहरुलाई कुखुरा पालनमा थप हौसला मिलेको छ।

‘लोकल कुखुराको मासुसँगै चल्ला र अण्डाको पनि निकै राम्रो माग छ’, खड्काले भने, ‘उत्पादन गरी हुर्काउनसक्ने हो भने बजारको समस्या छैन, बरु बजारको मागलाई धान्न धौ–धौ छ ।’

kukhura palan suddhodhan 3

कुखुरा हुर्काउन ६ वटा फार्म बनाइएको छ। फार्ममा रहेका कुखुराले दैनिक ५ सय अण्डा दिन्छन्। तीमध्ये धेरैजसो अण्डा बिक्री हुन्छन्।

बाँकीलाई ‘ह्याचिङ’ मेसिनमा २१ दिनसम्म राखेर चल्ला निकालिन्छ। फार्ममै राखिएको ह्याचरीमा एकपल्टमा ३ सय अण्डा राखेर चल्ला निकाल्न मिल्छ। हाँसको पनि यही नै चल्ला उत्पादन गरी बिक्रीवितरण हुँदै आएको छ।

‘हाँस र कुखुराका चल्ला, अण्डाको माग पनि उत्तिकै छ’, अर्का सञ्चालक पराजुलीले भने, ‘जति उत्पादन गर्न सक्यो उति धेरै बिक्री हुन्छ।’

kukhura palan suddhodhan 4

कुखुरा र हाँसको होटल तथा रेष्टुरेन्ट र स्थानीयस्तरमा पनि माग राम्रो छ। ब्रोइलरभन्दा लोकल कुखुरा हुर्किन केही समय लाग्छ। सामान्यतः बिक्रीका लागि तयार गर्न पाँच महिना लाग्ने गर्छ।

ज्युँदो कुखुरा प्रतिकिलो सात सय, अण्डा छ सय रुपैयाँ क्यारेट र हाँस प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिरहेको अर्का सञ्चालक केसीले जनाए। माछा र खसीबोका भने हुर्किइरहेकाले अझै बिक्री सुरु गरिएको छैन। 

खड्काका अनुसार लोकल कुखुराबाट दोब्बर फाइदा छ।

kukhura palan suddhodhan 5

उनी भन्छन्, ‘ब्रोइलर कुखुरालाई महंगो दाना खुवाउनुपर्छ। चल्ला हुर्काउँदा नै धेरै मर्छन्। अर्कोतर्फ महिनौँ पालेर ३० हजार पनि फाइदा हुँदैन । तर, लोकल कुखुराका चल्ला मर्ने सम्भावना कम हुन्छ। पाँच महिना पाल्ने हो भने लागतभन्दा दोब्बर फाइदा हुन्छ।’

खड्का, केसी र पराजुलीले सुरुमा २५ वटा लोकल कुखुराका चल्ला ल्याएर पाल्न सुरु गरेका थिए । ती चल्ला छिटो हुर्किएपछि आफूहरुमा थप हौसला मिलेर अहिले दुई हजार कुखुरा पालिरहेको उनीहरु बताउँछन्।

‘एक÷दुई लट त हामीले बिक्री गरिसक्यौँ, अब करिब पाँच सय कुखुरा बिक्रीका लागि तयार भएका छन्’, केसीले भने, ‘स्थानीयस्तरमा उत्पादन भएको मकै, पिनालगायतको दाना खुवाउँदा कुखुरा राम्रोसँग बढ्दो रहेछ।’

kukhura palan suddhodhan 6

खड्का वडाध्यक्ष भएकाले साँझबिहान र फुर्सद भए दिउँसोको समयमा पनि फार्ममा आएर दाना राख्ने, कुखुरा, हाँस, बाख्राको हेरचाह गर्ने, भ्याक्सिन लगाए÷नलगाएको हेर्ने गर्छन्।

केसी र पराजुली पनि फार्ममा काम गर्ने कामदारसँगै खटेर हेरचाहमा लाग्छन्। सञ्चालकले सम्भावित रोगको जोखिमलाई ख्याल गरेर फार्ममा भेटेरिनरी जेटीए प्राविधिकलाई राखेका छन्।

जेटिए आशा चौधरी भन्छिन्, ‘हरेक पशुपक्षीलाई रोगबाट बचाउन आहार राम्रो र ठीक समयमा दिनुपर्छ। लोकल कुखुरालाई सरसफाइ, आहार, व्यवस्थापन राम्रो हुनुपर्छ भने माछालाई आहार र अक्सिजन चाहिन्छ। बाख्रालाई सरसफाइसँगै चिसोबाट बचाउनुपर्छ।’

kukhura palan suddhodhan 7

वडा अध्यक्षको हौसलाले आफूहरु पनि कृषिमा लागेको उनीहरुको भनाइ छ। वडा अध्यक्ष कृषिमा लाग्दा स्थानीयमा थप हौसला मिलेको छ।

‘धेरै जनप्रतिनिधि सुविधा भोगी भएको, भ्रष्टाचारमा मुछिएको सुनिन्छ। तर, आफैँ व्यवसायमा लागेर आर्थिक पक्ष सबल गराएर सुविधा पनि चाहिँदैन र भ्रष्टाचार पनि गर्नुपर्दैन’, स्थानीय किरण नेपालले भने।

हुन त यस क्षेत्रका अधिकांश नागरिक व्यावसायिक कृषिमा छन्। तर, पनि जनप्रतिनिधिको मिहिनेत देख्दा धेरैलाई व्यावसायिक कृषिमा लाग्न थप हौसला मिलेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad