मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १ सय ४४ जना मजदुरले यस वर्ष जागिर गुमाएका छन्। श्रम तथा रोजगार कार्यालय हेटौँडाका अनुसार एक मजदुरले ज्यान समेत गुमाएका छन्। उनको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको हो।
कार्यालयबाट आर्थिक वर्ष ०७५/७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट उक्त मजदुर हटाइएको बताइएको छ। सोही आर्थिक वर्षमा इनभाइरो प्लाष्ट प्रालीमा कार्यरत मजदूरको विद्युत् चुहिएर मृत्यु भएको हो । साथै उद्योगमा कार्यरत मजदूरले आफ्नो हक र अधिकारका लागि व्यक्तिगत तथा सामूहिकरुपमा करिब १०० उजुरी गरेको बताइएको छ । विवरणमा सो कार्यालयमा परेका उजुरीमध्ये सामूहिक छ वटा तथा व्यक्तिगत नौ वटा उजुरीको फछ्र्यौट गरिएको उल्लेख गरिएको छ।
कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठका अनुसार चितवन र मकवानपुरमा सो कार्यालयमा दर्ता भएका २०६ वटा उद्योग रहेको जसमध्ये मकवानपुरमा ७२ र चितवनमा १३४ वटा उद्योग रहेका छन् । ती उद्योगमा पाँच हजार ७४३ मजदूर रहेको र उनीहरुको अवस्थाबारे अनुगमन हुने गरेको जनाइएको छ।

प्रतिक्रिया