जब ग्राहक नयाँ गाडी खरिदका लागि कम्पनीका शोरुम पुग्छन्, उनीहरुको पहिलो चासो नै किन्न लागेको गाडीले दिने माइलेजबारे हुन्छ।
जति थोरै माइलेज, त्यति धेरै खर्च, जति धेरै माइलेज त्यति थोरै खर्च अर्थात् इन्धन धेरै खपत हुँदा बढी खर्च हुन्छ भने थोरै खपत हुँदा कम खर्च हुने भएकाले उनीहरुको पहिलो चासो माइलेजसँग हुने गर्छ।
त्यसकारण धेरै माइलेज दिने कारमा उनीहरु बढी दिलचस्पी हुन्छन्। कतिपय अवस्थामा धेरै माइलेज दिने भनेर खरिद गरिएकै गाडीले कम माइलेज दिन थाल्छन्। यस्तो किन हुन्छ त?
किन कि यसमा विभिन्न कारणहरु हुन सक्छन्, जस्तो कि चलाउने तरिका। व्यक्तिपिच्छे गाडी हाँक्ने आफ्नै तरिका हुन्छ। कसैले विस्तारै हाँक्न रुचाउँछन् त कसैले छिटो। तर यसले इन्जिनको काम गर्ने तरिका बदल्छ। सन्तुलित गतिमा हाँक्दा इन्जिनले पनि राम्ररी काम गर्छ। तर द्रुतगतिमा कार कुदाउँदा इन्जिनले पनि एकैचोटि धेरै पावर उत्पादन गर्नुपर्ने हुन्छ। यसका लागि इन्जिनलाई धेरै इन्धन खपत गर्नुपर्ने हुन्छ। इन्धन धेरै खान थालेपछि गाडीको माइलेज पनि कम हुने हुन्छ।
माइलेज घटबढको अर्को कारण सडकको अवस्था पनि हो। कम्पनीहरुले आफ्ना गाडी राम्रो सडकमा परीक्षण गरेर माइलेजबारे बताएका हुन्छन्। तर ग्राहकको हातमा आइसकेपछि उनीहरुले गाडी आवश्यकताअनुसार जस्तोसुकै अवस्थाको सडकमा लैजान्छन्। जस्तो कि धेरै ट्राफिक सिग्नल, जाम, उवडखाबड, कच्ची सडकमा कुदाउनुपर्ने हुन्छ। यस्ता सडकमा कार चलाउन चुनौतीपूर्ण हुन्छ। कतै गति बढाउने त कतै अचानक रोक्ने वा कम गतिमा चलाउने अवस्था आउँछ। यसले इन्धन धेरै खर्च हुन्छ र माइलेजमा प्रभाव पर्छ। आमरुपमा हाइवेमा कुदाउँदा कारहरुले राम्रो माइलेज दिन्छन् भने सहरी सडकमा कम दिन्छन्।
अर्को कारणचाहिँ एसी र हिटर पनि हो। कारमा एसी वा हिटर चलाउँदा त्यसले इन्जिनबाट पावर लिइरहेको हुन्छ। यसले इन्धन खपत बढाइदिन्छ भने माइलेज घटाइदिन्छ।
Shares

प्रतिक्रिया