ad ad

कारोबार


भक्तपुरको लाँकुरी भञ्ज्याङमा सञ्चालनमा आयो १ अर्ब लगानीको टेरेस रिसोर्ट

व्यवसायी आङछिरिङ शेर्पा र अर्जुन शर्माको रिसोर्टमा यस्ता छन् सुविधा
भक्तपुरको लाँकुरी भञ्ज्याङमा सञ्चालनमा आयो १ अर्ब लगानीको टेरेस रिसोर्ट

नेपालखबर
चैत ९, २०७९ बिहिबार १७:५, काठमाडौँ

विलासी पर्यटकको लागि भक्तपुरको लाँकुरी भञ्ज्याङमा टेरेस रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको छ।

भक्तपुर र ललितपुरको संगम काठमाडौं उपत्यकाको रमणीय स्थल लाँकुरी भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको लागि पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहले दि टेरेस नामक रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएका हुन्। 

रिसोर्ट सञ्चालनमा आएसँगै पर्यटकीय तथा रमणीय स्थल लाँकुरी भञ्ज्याङ आन्तरिक तथा वाह्य पर्यटकको लागि सहज बन्नेछ। नेपाल आउने विलासी पर्यटकहरुलाई राजधानीको निकट तथा शान्त वातावरणमा हिमालयको दृश्यावलोकन रिसोर्टको शयन कक्षबाटै देख्न सकिन्छ। 

रिसोर्टबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धौलागिरिसम्मका हिमशृंखलाका मनमोहक दृश्य देख्न सकिन्छ। जसमा लाङटाङ हिमाल, जुगल, गौरीशंकर हिमाल समेतको दृश्यावलोकन गर्न सकिनेछ।

होटलका सञ्चालक पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले ३८ वर्षअघि नेपाल आउने विलासी पर्यटकहरुलाई राजधानीको निकट तथा शान्त वातावरणमा रिसोर्ट बनाउने सोचसहित जग्गा खरिद गरेको र सोही अनुसार आज सोचलाई वास्तविकतामा परिणत गरेको बताए। उनले ३८ वर्षअघि सामान्य खेतीपाती गर्ने जग्गा किनेर पर्यटकीय स्थल बनाउने सोच अहिले आएर पूरा भएको बताए। 

त्यस्तै, रिसोर्टका प्रबन्धनिर्देशक तेन्जिङ डेभिड शेर्पाले रिसोर्टमा अहिलेसम्म करिब १ अर्ब रुपैयाँ लागत लागेको  बताए। उनले बुबाले ३८ वर्षअघि गरेको लगानी जोड्दा त्यसको मूल्य धेरै हुने बताए। उनले रिसोर्ट निर्माण कार्य सन् २०१४ मा सुरुवात गरे पनि भूकम्प, नाकाबन्दी, कोरोना महामारीको कारण ७ वर्ष निर्माण कार्यमा लागेको बताए। उनले होटल संघ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यतामा राख्नका लागि लभिङ गरिरहेको पनि बताए। 

उनले रिसोर्टमा नेपाली तथा विदेशी पर्यटक दुवै आउने बताए। उनले लिज जंगलको सिरानमा निजी हेलिप्याड पनि निर्माण गरिएको बताए।

उनले रिसोर्टमा ट्राभल कम्पनीहरुले व्यवस्था गरेमा हेलिकोप्टरमार्फत रिसोर्ट ल्याउन र लैजान सकिने गरी हेलिप्याडको निर्माण गरिएको बताए। 

रिसोर्टबाट काठमाडौं उपत्यका र हिमाली क्षेत्रको दृश्य अझ लोभलाग्दो देखिन्छ। रिसोर्टको मुख्य प्रवेशल्वारबाट प्रवेश गर्ने बित्तिकै देखिने दृश्य साँच्चिकै मनमोहक छ। रिसोर्ट र हिमालयको बीचको दूरी कुनै समुन्द्र जस्तो देखिन्छ। रिसोर्टबाट रात्रिको समयको काठमाडौं उपत्यकाको दृश्य अझ मनमोहक देखिन्छ। 

४० रोपनी जमिनमा फैलिएको यो रिसोर्टमा दुई सुईट रुम छन्। लिभिङ रुम, बेडरुम, बाल्कोनी, ज्याकुजीसहितको यी कोठाहरु विलासी पर्यटक लक्षित छन्। सम्पन्न पर्यटकहरुलाई नै लक्षित गरेर १६ वटा डिलक्स रुमको व्यवस्था छ। त्यस्तै गरी मध्यमवर्गीय पर्यटकलाई लक्षित गरी स्टाण्डर्ड रुमको व्यवस्था छ।

यस्ता रुम २८ वटा छन्। रिसोर्ट वरिपरिको वन जंगल मासिन नपाओस भनेर ८०० रोपनी जंगल लिजमा समेत दिएको छ। तारबार गरी संरक्षण समेत गरिएको यो जंगल प्रकृतिप्रेमी पर्यटकका लागि वरदान हुने रिसोर्टले बताएको छ। 

रिसोर्टमा स्वस्थ र स्वच्छ हावाको प्रत्याभुतिको माध्यम पनि जंगल बन्ने देखिन्छ। जंगलमा रुख बिरुवालाई असर नपर्ने गरी तरकारी र जडिबुटी खेती गर्ने योजना रहेको रिसोर्टले बताएको छ। रिसोर्टमा खुला स्वीमिड. पुल र ज्याकुजी पनि छ। 

पाहुनाहरुको मनोरञ्जनको लागि २ वटा विलियर्ड रुम छन्। योगा,स्पा र जिमका अलग अलग कक्षहरु छन्। यहाँ नेपाली, भारतीय, कन्टिनेन्टल र भूमध्यसागरीय क्षेत्रका परिकारहरु पाइन्छ।

सभा, सम्मेलन र सेमिनारसहित विभिन्न पार्टी गर्ने सुविधाका लागि २ सय जना सहभागी बन्नसक्ने सुविधा सम्पन्न कन्फरेन्स हलको निर्माण समेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .