यही फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायनेट’बनेको छ।
मंगलबार आयोजित कार्यक्रममा भायनेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायनेटले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
भायनेटका कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकुद, मनोरञ्जन, र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू भएको बताउँदै यसले कम्पनीको व्यवसायलाई पनि नजिकबाट छोएको उल्लेख गरे।
ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीय रूपमा बढ्ने र हाल नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको माया उत्साहजनक रहेकाले र कम्पनीले यस यात्रालाई अझ बलियो बनाउन चाहेको बताए।
‘नेपाली टिमलाई अझ उचाइमा पुर्याउन हाम्रो निरन्तर साथ रहनेछ’, उनले भने, ‘फुटबल प्रवर्द्धन गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। महिला फुटबलको विकासमा सानो योगदान दिन पाउँदा हामी गर्व गर्छौं। खेलकुद राष्ट्रको उन्नतिको एउटा महत्वपूर्ण आधार भएकाले, महिला फुटबललाई थप सशक्त बनाउने प्रयासमा हामी पनि सामेल भएका छौँ।’
भायनेट यसअघि पनि विभिन्न सामाजिक महत्वका कार्यक्रमहरूमा सहभागी हुँदै आएको छ।
Shares

प्रतिक्रिया