कारोबार


पोखरामा पनि पुन: उठ्यो भाटभटेनी, मीनबहादुरले दोहोर्‍याए– फेरि कहिल्यै यस्तो नहोस्!

पोखरामा पनि पुन: उठ्यो भाटभटेनी, मीनबहादुरले दोहोर्‍याए– फेरि कहिल्यै यस्तो नहोस्!

वाशुदेव मिश्र
बैशाख २१, २०८३ सोमबार १३:३६, पोखरा

पोखरा–९,न्यूरोडको उपल्लो क्षेत्रमा सोमबार १० बजेतिर  विशेष चहलपहल थियो। खासखुस गर्दै गरेका मान्छेका पाइलाचाहिँ पुनः खुलेको भाटभटेनी सुपर मार्केटतिर सोझिएका थिए। लाग्थ्यो–उनीहरुका खुट्टाहरु यन्त्रवत् छन् र त्यता छिर्न अभ्यस्त पनि।

हो, भदौ २४ गते लुटपाट मच्चाइएको, खरानी पारिएको भाटभटेनी पुनः ठडिएको छ। सोमबारदेखि यसले पूर्ववत् ग्राहकलाई सेवा दिन थालेको छ।

भाटभटेनीको पोखरा शाखा संचालनमा आएलगत्तै हामीले त्यसका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङबारे सोधखोज गर्‍यौँ। हामी पुग्दा उनी सबैभन्दा उपल्लो तलामा रहेको सामान्य कुर्सीमा उद्योगपति गणेशबहादुर श्रेष्ठसहित केही सम्पादकहरुसँग भलाकुसारी गर्दै थिए।

माथ्लो तलाको त्यो भागमा मर्मत कार्य चलिरहेको थियो। विश्वप्रसिद्ध फुड चेन केएफसीको शाखासमेत  संचालन हुने गरी बन्दै गरेको रेष्टुराँमा हामीले धैर्य गर्‍यौँ। मीनबहादुरले पोखरेली उद्योगपति गणेशबहादुर श्रेष्ठसँग बिदा मागे। हामी उनीसँगै तल झर्‍यौँ। लिफ्टमा सँगै हुँदा मैले मीनबहादुरलाई सोधेँ, ‘फेरि बनाउन कति खर्च लाग्दो रहेछ?’

उनले सरल भावमा भने, ‘रेट्रोफिट गर्दा त्यसलाई जोड्ने रसायन पनि महँगै हुने रहेछ। काम अझै सकिएको छैन, कति खर्च भयो भन्ने हिसाब आउँदै गर्ला तर म २ गते पोखरा आएको,पुननिर्माण भइरहेको थियो, त्यसपछि चाहिँ मैले भाइबहिनी (भाटभटेनीमा कार्यरत कर्मचारी) लाई पनि बढी नै दुःख दिएँ। झण्डै यो बीचमा दिनरात काम भयो।’

भदौ २४ ! त्यसदिन के भयो ? भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ सम्झन चाहँदैनन्। मीनबहादुरका अनुसार त्यो दिन उनी काठमाडौंको टंगालमा रहेको शाखामै थिए रे। एकाएक भीड जम्मा भयो। भीड बढ्न थालेपछि उनी त्यहाँबाट निस्केछन्। टंगालको मात्र नभएर क्साल, महाराजगञ्ज, कोटेश्वर, बौद्ध, पोखरा, बालुवाटारको गोदाम,भरतपुर, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानमा रहेका भाटभटेनी जलाइयो।

कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, भैरहवामा  चोरी–डकैती र तोडफोड गरियो। भाटभटेनीलाई किन तारो बनाइयो? जेन–जीको नाममा त्यस्तो विध्वशं किन गराइयो ? मीनबहादुर उत्तर खोज्न लागेनन्। लगत्तै बनेको सुशीला कार्की नेतृत्वको सरकारका अर्थमन्त्री रामेश्वर खनालले उनलाई सान्त्वना दिए। मीनबहादुरको मन दुखेको थियो तर त्योभन्दा पर भाटभटेनीमै आश्रितहरुलाई कसरी पुनः काममा फर्काउने भन्नेमा अडेको थियो। उनले भाटभटेनीलाई पुनः उठाउने घोषणा गरे। कर्मचारीको सुरक्षा र संरक्षणको प्रतिवद्धता जनाए। भाटभटेनी फेरि उठाउन थाले। सोमबार पोखरा शाखाको उद्घाटनको बेला उनले संक्षिप्त मन्तव्य दिए। सवैको साथ र सहयोग अनि आशीर्वादले स्टोर सञ्चालनमा ल्याइएको बताए।

हामी लिफ्टबाट तल्लो तलासम्म आइपुग्दा ग्राहकको भीड बढ्दै थियो। भीडमा रहेका केही मान्छेहरु उनीलाई औंल्याउँदै ‘उनी नै त हुन्, यसका साहु’ भन्दै थिए। ढोकैमा राखिएको पानसको बत्ती बलिरहेको थियो। त्यसको छेउमै रहेको कुर्सीमा बस्नको लागि मीनबहादुरले गरेको आग्रहमा मैले भनेँ,‘दाइ, तपाईं बस्नुुस् न!’ 

उनी झन नरम सुनिए।

‘कहाँ हुनु, तपाईं पो बस्ने हो नि!’ उनले मेरो हात समाए। म उनको विनम्रताको अगाडि झन होचोँ भएँ।

लगत्तै उनले पारिपट्टि भित्तामा राखिएको एउटा बोर्डतिर आँखा पुर्‍याएँ अनि औंलाले देखाउँदै भने,‘अब फेरि यस्तो नहोस् भन्ने हो।’

त्यो तस्बिरमा जेन–जी आन्दोलनपछिको विध्वंशहरु समेटिएका छन्। सिंहदरबारदेखि देशभरका भाटभटेनी दनदनी बल्दै गरेको तस्बिर देखाउँदै मीनबहादुरले सुस्तरी भने, ‘त्योचाहिँ सिंहदबार हो। बीचमा भएको पोखराको स्टोर हो। सबैसँग एउटा सीप हुन्छ। कसैसँग डोको बुन्ने,कसैसँग के गर्ने सीप हुँदा मैले जानेको चाहिँ यही (भाटभटेनी ) हो। यहाँहरु सबैको सहयोगले फेरि बनाएको हो।’

उनले मलाई देखाएको र भाटभटेनीको भित्तामा टाँसिएको तस्वीरमा मीनबहादुर हात जोडेर प्रार्थना गर्दै छन्। 

उनले भनेका छन्, ‘हे भगवान ! अबउप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् !!!’

मीनबहादुले मलाई आफ्नो मनको भित्री इच्छा देखाए–सुनाए। 

मैले खुसुक्क सोधेँ, ‘दाइ यो तपाईंको कामना हो। अहिलेको सरकारका कोही मान्छेले तपाईंलाई सान्त्वना दिएका छन्, केही सोधखोज गरेका छन्?’

उनको अनुहारको भाव बदलिएन। सहज पारामा भने, ‘अहँ, कसैले मसँग सोधखोज गरेको छैन, म पनि यस्तो–उस्तो भन्न गएको छैन। हामीले काम गर्ने हो। रोजगारी दिने हो। राज्यलाई कर तिर्ने हो। हामीले हाम्रो काम गर्दै गर्दा सरकारले पनि आफ्नो काम गरिरहेको होला। उहाँहरुले राम्रै गर्नुहोला भन्ने छ।’ 

हामी बसेको ठाउँबाट उठ्यौँ। सँगै फोटो खिच्न चाहनेहरुले मीनबहादुरलाई घेरे। मैले भनेँ, ‘दाइ, हजुर यहाँ उभिए त दिनभर उम्किन पाउने छाँट छैन।’

उनी पुनः मुस्कुराए। मैले मीनबहादुरकै मोबाइलबाट केही फोटो खिचिदिएँ। त्यत्तिकैमा कलेज ड्रेसका किशोरीहरुले उनलाई घेरे।

मीनबहादुरले भने,‘ओहो, जेन–जीहरू!’

किशोरीहरुमा थोरै उकुसमुकुस देखियो। उनीहरु लजाए पनि। ‍सायद, जेन–जीकै नाममा भाटभटेनी लुटिएको र जलाइएको उनीहरुले पनि सम्झे होलान्!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad