कारोबार


२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको निर्माण सकियो, परीक्षण उत्पादन सुरु

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको निर्माण सकियो, परीक्षण उत्पादन सुरु

नेपालखबर
साउन २९, २०८१ मंगलबार ११:१६, कास्की

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको निर्माण सकियो, परीक्षण उत्पादन सुरु

कास्कीमा पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको निर्माण सकिएको छ। माछापुच्छे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ।

‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ। यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ। त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने) को काम सुरु हुन्छ’, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने।

‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ। त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ। 

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ। पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ।

कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताए। स्थानीयवासीको सानासाना लगानीले यो आयोजना निर्माण गरिएको हो। 

‘जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन। धेरै मानिस जोडिनुभएको छ। एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ,’ उनले भने, ‘पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ।’

सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ। यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। 

अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए। सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो। 

कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad