कारोबार


किसानलाई किबीभन्दा अलैँचीबाट फाइदा

अलैँचीको मूल्य प्रतिमन १ लाख १५ हजार
किसानलाई किबीभन्दा अलैँचीबाट फाइदा

नेपालखबर
पुस ३, २०८१ बुधबार १३:७, इलाम

‘अब किबी उखेलेर अलैँची नै लगाउने हो,’ मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने। सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने उल्लेख गर्दै उनले किबीभन्दा अलैँचीबाट नै दश गुणा फाइदा हुने बताए।  

उनले मकै छर्ने टार बारीमा हाल करिब २० बोट किबी रोपेका छन्। किबी र अलैँची तुलना गर्दै भन्छन्, ‘त्यो बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मनबढी फल्ने थियो, अहिलेको भाउमा पनि २ लाख रुपैयाँभन्दा बढी  हुन्थ्यो।’

२० बोट किबीबाट अहिले ५ हजार रुपैयाँ पनि आम्दानी नभएको उनको भनाइ छ। इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र हैन सो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन्।  

अलैँचीले दिने आम्दानी अन्य खेतीबाट नहुने यहाँका किसानको अनुभव छ। अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। तर अलैँची प्रतिकिलो २ हजार ८०० भन्दा बढीमा बिक्री भइरहेको छ। अलैँचीको मूल्य हाल प्रतिमन १ लाख १५ हजार रुपैयाँसम्म पुगेको छ।  

कुनै बेला प्रतिकिलो ६०० रुपैयाँमा कारोबार भएको किबी हाल बिक्रीमा समेत समस्या भइरहेको किसानको भनाइ छ। किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको छ। 

किबीको बजारीकरणमा पनि समस्या रहेको किसान ठाकुर खतिवडाले सुनाए। किसान आफैले बजारीकरण गर्नुपर्ने, मूल्य आलु बराबर मात्र पाइने गरेको उनले बताए। शुरूमा किबीखेती गर्ने किसानले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए हाल सो मूल्य कायम हुन नसक्दा किसानमा निराशा पैदा भएको उनको अनुभव छ।

किबीबाट सोचे जस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए। किबीलाई फलफूलको राजा उपनाम दिइएको छ। एउटै किबीबाट धेरैवटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रूपमा लिइन्छ। 

इलामलगायत देशका पूर्वी पहाडी जिल्लामा यसको राम्रो उत्पादन हुन्छ। तर उत्पादन भए प्रशोधनका लागि कुनै उद्योग छैनन्। किबीको वाइन बनाउन गाउँ–गाउँमा थालिए पनि यसले निरन्तरता हुन सकेन। केही किसान आफैले स्थानीयस्तरमा नै अचार बनाए उद्योग नै स्थापना गरेर प्रशोधन हुन नसक्दा मूल्य ओरालो लाग्दै गएको छ। 

स्वादिलो फल किबीबाट किसानले धेरै परिकार बनाउन सक्ने भए हाल पाकेको खानेबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्ने गरेको किसान बताउँछन्। भान्सामा स्वादका लागि अचार प्रयोग हुन्छ। किबीबाट अमिलो र गुलियो स्वाद पाइने हुँदा अचार राम्रो हुन्छ। तर व्यावसायिक रूपमा अचार बनाउन पहल भइरहेको छैन। 

धेरै पौष्टिक तत्त्वले भरिपूर्ण मानिएको किबी फल नेपालको इलामसहित काभ्रे, पाँचथर, संखुवासभालगायत जिल्लामा खती हुँदै आएको छ। पश्चिमी जिल्लामा पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ।

किवी फलमा पाइने एक्टिनिडिन नामक इन्जाइमले पाचन प्रक्रियामा सहयोग गर्छ। यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नुपर्छ। भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन। भमरा, माहुरीलगायतले फुलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ। 

यसलाई हाँगा (डाँठ) र दिउलबाट थप बिरुवा उत्पादन गर्ने गरिएको छ। रोपेको चौथो वर्षदेखि नै किबी फलको आम्दानी लिन सकिन्छ। पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ। समुन्द्रको सतहदेखि एक हजार २०० मिटरदेखि दुई हजार ४०० मिटरसम्मको उचाइमा किबी फलको खेती गर्न सकिन्छ। यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ। 

इलाममा करिब कूल ७८० हेक्टरमा किबी खेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी तथा कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताए। अघिल्लो वर्ष दुई हजार ८५२ मेट्रिकटन किबी उत्पादन भएको उनले जानकारी दिए। 

किबीलाई प्रशोधन गरेर जुस, जाम बनाउन सकिन्छ। जुस, जाम वा अचार बनाउन पहल गर्ने हो भने किबीलाई पुरानो मूल्यमा फर्काउन सकिने किसानको भनाइ छ। यसमा तीनै तहका सरकारले चासो दिनुपर्ने किबी किसानको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad