कारोबार


दशैँमा करिब ४०० नयाँ बस थपिँदै, २० लाख बढी यात्रु बाहिरिने

दशैँमा करिब ४०० नयाँ बस थपिँदै, २० लाख बढी यात्रु बाहिरिने

फाइल तस्बिर


वसन्त अर्याल
असोज २, २०७९ आइतबार १८:३०, काठमाडौँ

यातायात व्यवसायीले २०७९ को दशैँमा २० लाख बढी यात्रु बाहिरिने बताएका छन्।  

कोभिड महामारीको कारण २ वर्ष रोकिएका यात्रु बाहिरिने व्यवसायीको आकलन छ। 

पछिल्ला २ वर्षमा कोभिड महामारीको कारण जान नसकेका यात्रु र चाडपर्वलगत्तै निर्वाचन भएकाले यात्रु बढ्ने व्यवसायीको अनुमान छ।

यातायात व्यवसायीले असोज १ गतेदेखि नै अग्रिम टिकट बुकिङ थालेका छन्। 

लामो दूरीको टिकट काट्न नयाँ बसपार्कमा लाइन लाग्ने अवस्था छ। यातायात कम्पनीले अहिले एसी, डिलक्स र नर्मल अवस्थाको टिकट काट्न सक्ने व्यवसायी बताउँछन्। 

केही यातायात कम्पनीले अनलाइनबाट दशैँको टिकट बुकिङ गरिरहेका छन्। यातायात व्यवस्था विभागसँगको सहमतिमा अग्रिम टिकट बुकिङ यथाशक्य अनलाइनबाट गर्ने व्यवस्था मिलाउने भनिएको थियो। 

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले दशैंको बेलामा यात्रुको संख्या ह्वात्तै बढ्ने हुँदा व्यवस्थापन चुस्त बनाउनुपर्ने बताए। 

‘पछिल्ला २ वर्ष त कोभिड महामारीको कारण यात्रु धेरै आउजाउ गरेनन्’, अध्यक्ष स्वारले भने, ‘अहिले महामारीबाट पनि पार पाएको र निर्वाचन पनि सँगै आएकोले विगतभन्दा बढी चाप हुन्छ।’

व्यवसायीहरुले सामान्य अवस्थामा पालैपालो बस सञ्चालन गर्दै आएका छन्। यात्रुको मागअनुसार बसको संख्या बढाउँदै जान्छन्। तर दशैँमा एकतर्फी बढी यात्रु जाने हुँदा त्यसलाई व्यवस्थापन गर्न अप्ठ्यारो रहेको व्यवसायीको भनाइ छ। 

‘दशैँको लागि मात्रै सवारीसाधन व्यवस्था गर्न सकिँदैन। जहाँ बढी चाप हुन्छ त्यहाँ बस थप्छौँ’, स्वारले भने, ‘१० गतेबाटै क्यू फ्रि गर्ने सहमति भएको छ। त्यसले व्यवस्थापन गर्न सहज हुन्छ।’

सरकारले घटस्थापनाको दिनबाट अर्थात् असोज १० गतेबाट क्यु फ्रि गरे सहज हुने व्यवसायीले बताएका छन्। क्यु फ्रि हुँदा कम यात्रु हुने रुटका बस बढी यात्रु हुने गन्तव्यमा पुग्न सक्छन्। यातायात व्यवस्था विभागले व्यवसायीलाई असोज १० गतेबाट रुट फ्रि हुने जानकारी दिएको छ। 

दशैँको समयमा दैनिक डेढ लाख बढी यात्रु बाहिरिने गरेका छन्। घटस्थापनादेखि अष्टमीको दिनसम्म यात्रुको चाप एकदमै बढी रहने गरेको छ। यात्रु ठगिनबाट जोगाउन अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यमा रोक लगाउने सहमति भएको छ। 

करिब ४०० नयाँ बस थप्दै व्यवसायी 
यातायात व्यवसायीले चाडपर्व लक्षित गर्दै करिब ४०० नयाँ बस थप्ने भएका छन्।

अधिकांश यातायात व्यवसायीले दशैंको समयमा नयाँ बस थप्ने गरेका छन्। सामान्य अवस्थामा व्यवसायीले दशैंको समयमा ६–७ सय नयाँ बस थप्ने गरेकोमा अहिले करिब ३५० देखि ४०० नयाँ बस थपिने स्वार बताउँछन्। 

‘व्यवसायीले नयाँ बस थप्ने भनेकै चाडपर्वको समयमा हो। अधिकांशले दशैंको समयमा बस थप्छन्’, उनले भने, ‘अहिले बैंकको ब्याजदर उच्च र ऋण पाउनै मुश्किल रहेकाले धेरै बस थपिँदैनन्।’

पछिल्लो २ वर्षमा विस्थापित भएका बसको पूर्ति गर्नको लागि नयाँ बस थप्नैपर्ने अवस्था रहेको व्यवसायीको भनाइ छ। २ वर्षमा केही वर्ष २० वर्ष हदम्यादका कारण बन्द भएका छन् भने केही बिग्रिएर चल्नसक्ने अवस्थामा छैनन्।

कोभिड महामारीको कारण ऋण तिर्न हम्मे–हम्मे परेका व्यवसायीले नयाँ बस खरिद गर्न सकेका थिएनन्। कोभिडअघिको सामान्य अवस्थामा जस्तो खरिद गर्न नसके पनि नयाँ बस थपिने बताए। 

सडक मर्मत छिटो गर्न मन्त्रीको निर्देशन
यातायात व्यवसायीले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग वर्षातको समयमा बिग्रिएका बाटो सहज बनाउन माग गरेका छन्।

दशैंमा अत्यधिक सवारीसाधन आउजाउ हुने भएकाले सडकका खाल्डाखुल्डी पुर्ने तथा अवरुद्ध सडक खुलाउने सहमति भएको छ। 

भौतिक पूर्वाधारमन्त्री मोहम्मह इस्तियाक राईले सडक विभागलाई देशभरका सडकलाई सहज बनाउन निर्देशन समेत दिइसकेका छन्। सडक विभागले सडक मर्मत र सुचारु गर्न ‘फोकल पर्सन’ तोक्नेछ। 

मन्त्रालयको छलफलमा व्यवसायीले सडक राम्रा नहुँदा यात्रुलाई कठिनाइसँगै समयमै गन्तव्यमा पुग्न कठिन हुने बताएका छन्। चाडपर्वको समयमा यातायात व्यवस्थापन गर्न व्यवसायीसँगै सरकारको समेत मुख्य भूमिका रहने स्वारले बताए। 

यातायात आवागमनमा सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्नेबाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .