निर्वाचन विशेष


भरतपुरको मैझारो : रेनुसँग होइन प्रचण्डसँग रिस, एमाले पनि ‘रिस्क’मै

भरतपुरको मैझारो : रेनुसँग होइन प्रचण्डसँग रिस, एमाले पनि ‘रिस्क’मै

फाइल तस्बिर


सागर न्यौपाने
बैशाख २७, २०७९ मंगलबार १०:२९, चितवन

भरतपुर महानगरपालिकास्थित विक्रम चोकको ओरालोमा प्रवीणता प्रमाणपत्र तह नर्सिङको अन्तिम वर्ष अध्ययनरत एक किशोरी भेटिइन्। 

भरतपुर अस्पताल नर्सिङ कलेज (सरकारी)मा अध्ययनरत उनी अटो चढेर घर जाँदै थिइन्। 

नेकपा एमालेको चुनावी सभा हुने नारायणगढस्थित क्याम्पा चौर जान नेपालखबर टीम गाडी कुरिरहेको थियो।

अटो देखेपछि हामीले रोक्यौ र सोध्यौं, जान मिल्छ? 

अटो चालकले किशोरीतिर देखाए। उनले हुन्छ भनिन्।

हामी त्यसमै चढ्यौँ। 

केही तल पुगेपछि चालकलाई चुनावी वातावरण सोध्यौँ। तर, किशोरी बोलिन्।

उनले पहिलो पटक मतदान गर्न लागेको र जित्ने उम्मेदवारलाई भोट दिने बताइन्। 

नर्सिङ पढिरहेकी, त्यसमाथि पहिलोपटक मत हाल्न पाउँदा उनी जति उत्साहित देखिइन्, त्यसमाथि पहिलो मत नै जित्नेलाई दिने भनेको सुनेर हामी कुरा गर्न तम्सियौँ। 

‘म पहिलो पटक मतदान गर्दैछु र मेरो पहिलो मत नै जित्ने उम्मेदवारलाई दिन्छु,’ उनले नेपालखबरसँग भनिन्।

जित्ने उम्मेदवारले नै कसरी तपाईंको मत पाउँछन्?

‘भरतपुरमा कांग्रेससहितको गठबन्धन छ, गठबन्धनबाट मेयरमा रेनु र उपमेयरमा कांग्रेसका चित्रसेन उठेका छन्,’ उनले जवाफ फर्काइन्। 
कुरा सकिएकै थिएन। उनको घर आइपुग्यो।

‘यहाँको विकास, अटोबाट झर्दै (घरनजिकैको कालोपत्र गरिएको सडक देखाउँदै) उनले थपिन्, ‘यहाँको विकास रेनुले गरेकी हुन्, कांग्रेस पार्टीले पनि उनैलाई जिताउँछ।’

भरतपुरका एकजना अटो रिक्सा चालक। तस्बिर : विक्रम राई/नेपालखबर
राजनीतिमा चासो नलिने र व्यस्त हुनुपर्ने नर्सिङ अध्ययनरत उनी मात्र होइन, दैनिक मजदुरी गरेर गुजारा चलाउने अटो चालकले पनि यसपटक रेनु दाहाललाई नै मत दिने योजनामा रहेको सुनाए। विगत १५ वर्षदेखि रिक्सा र चार वर्षदेखि अटो चलाउन थालेका वडा नम्बर ५ निवासी उनले पनि यसपटक दायाँबायाँ नहेरी रेनुलाई नै मत दिने बताए। 

फेरि हामी अर्को अटो चढेर भरतपुर १२ मिलन टोल गयौं। हामीले चढेको अटोका चालकले भने, ‘मेरो त परिवार सबै एमाले हो, सहिद चोकबाट भरतपुरको उकालो लाग्दै गर्दा उनले भने, ‘एमालेका विजय सुवेदी मेयरको उम्मेदवार हुनुहुन्छ, उहाँलाई हाम्रो भोट खस्छ।’

यी त प्रतिनिधि पात्र मात्र हुन्। 

चर्चा र हल्लालाई आधार मान्ने हो भने निवर्तमान प्रमुख रेनुले नै चुनाव जित्छिन् भन्ने मत बलियो देखिन्छ। तर, चुनावमा चर्चाले मात्र काम गर्दैन, मतदाताको विवेक महत्वपूर्ण हुन्छ। त्यो विवेक बैशाख ३० गते मात्र देखिन्छ। 

चितवनका बुद्धिजीवीहरु रेनु र विजयको तीव्र प्रतिस्पर्धा हुने देख्छन्।

देशभरीको ध्यान तानेको भरतपुर महानगरमा अहिले उम्मेदवारको नामै किटेर पक्ष र विपक्षमा खुल्ने संख्या बढ्दै जाँदा कसले गर्ला त भरतपुर महानगरको नेतृत्व?

रेनु कि विजय?
भरतपुरको प्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ। विश्लेषकहरुका अनुसार तीनजना उम्मेदवार बढी चर्चामा छन्।

प्रतिस्पर्धा भने दुईजनाबीच तीव्र हुने आकलन छ।

सहरी इलाकामा सडक, पिउने पानी र ढल सुधार गरेको, ग्रामिण भेगमा किसान अनुदान, दुग्ध चिस्यान केन्द्र, मौरी, माछा, कुखुरा पालनमा गरेको सहयोगले निवर्तमान महानगर प्रमुख रेनुको पक्षमा माहोल बढेको स्थानीय बताउँछन्। 

अर्कोतिर, माओवादी केन्द्र र कांग्रेसका नेताहरुले रेनु जीतका तीन आधार देखेका छन्। 

पहिलो, भरतपुर महानगरमा ५ वर्षमा भएको कायापलट विकास। दोस्रो, केन्द्रीय नेतासँग पहुँच र बजेट लैजानसक्ने क्षमता

र तेस्रो, गठबन्धन। भरतपुरमा बलियो पार्टी कांग्रेससहित रेनुलाई पाँच दलीय गठबन्धनको साथ छ। 

तर, बलियो गठबन्धन भएपनि रेनुलाई दुईवटा फ्याक्टरले समस्या पार्छ। 

एउटा, कांग्रेसभित्रको असन्तुष्ट खेमा। अर्को, नयाँ मतदातालाई आकर्षित गर्ने योजना।

भरतपुरमा ३५ हजार नयाँ मतदाता थपिएका छन्। २०७४ मा मत दिने ४३ हजार बढी मत जोगाउँदै नयाँ मतदाता थप्न रेनुका लागि सजिलो छैन।

कांग्रेसमा लामो समय राजनीति गरेका जगन्नाथ पौडेलले काट्ने मत रेनुका लागि अर्को ठूलो चुनौती हो।

रेनु विरुद्ध बागी उम्मेदवार बनेका पौडेलले कांग्रेसका नेता-कार्यकर्ताको मत काट्छन्।

उनीहरुलाई विश्वासमा लिने सम्भावना निकै कम छ।

यिनै कारण चितवनमा स्वच्छ छविको पहिचान बनाएका नेकपा एमालेका विजय सुवेदीले रेनुलाई ठूलै टक्कर दिन सक्छन्।

एमालेको भरतपुरमा सांगठनिक मत राम्रो छ। ‘एमालेमा नेताभन्दा कार्यकर्ता, कार्यकर्ता भन्दा समर्थक बढी उत्साहित भएर लागेका छन्, हाम्रो जीतको आधार यही हो,’ एमाले बागमती प्रदेश कमिटी इञ्चार्ज काशीनाथ अधिकारीले विश्लेषण गर्दै भने, ‘गठबन्धनमा भए पनि कांग्रेसभित्रको कलहको फाइदा हामीलाई हुन्छ।’

तर, मतदाताको मनोविज्ञान अलि फरक छ। नेपालखबर टिमले वडा नम्बर २, ४, ५, ९, १०, ११, १२ र १५ का केही व्यक्तिसँग कुरा गर्दा उनीहरुले दुईवटा कुरा गरे।

पहिलो, वडामा आफ्नो पार्टीका उम्मेदवार जिताउने र मेयरमा रेनुलाई भोट हाल्ने अभियान चलेको छ। ‘भरतपुरको आक्रामक विकास गर्न अन्य पार्टीले सक्दैन, केन्द्रमा शक्ति भएका नेताहरु अरु दलमा देखिएनन्,’ मेघौलीका एक शिक्षकले नेपालखबरसँग भने, ‘भरतपुरलाई राष्ट्रिय राजनीतिमा जोडेर विकास गरेकै कारण वडामा आफ्नो पार्टी मेयरमा रेनुलाई मत पर्छ।’

एमालेको रणनीति फरक छ। अहिले चुनावी कमाण्डर बनाइएका उपाध्यक्ष सुरेन्द्र पाण्डेभन्दा बढी सक्रिय छन् पोलिटब्युरो सदस्य देवी ज्ञवाली। उनी एक्लै घरघर पुगेर मतदाता भेटिरहेका छन्। ‘चुनाव त्यसले जित्छ, जसले मतदाताको मनोविज्ञानमा प्रभाव पार्न सक्छ,’ उम्मेदवार सुवेदीले भने, ‘अहिले एमाले मतदाताको घर घर पुगेर त्यही प्रभाव देखाइरहेको छ।’

एमालेले गठबन्धन भएकैले मत बदर बढ्ने आकलन गरेको छ। ‘गठबन्धनले मत बदर हुन्छ, त्यसले एमालेलाई फाइदा हुन्छ, अधिकारीले थपे, ‘ रेनु दाहालसँग कांग्रेसको असन्तुष्ट समूह छ, त्यसको मत केही रुखमा पर्छ, केही भूइँकटहरमा पर्छ।’

एमालेको हिसाव–किताब
एमालेले ५४ हजार मत आफ्नो पक्षमा आउने दाबी गरेको छ। यस्तै थपिएका ३५ हजार मत अधिकांश एमालेलाई पर्ने उनीहरुको दाबी छ। 

प्रमुख पदका उम्मेदवार विजयले माहोल रेनुको पक्षमा भए पनि चुनाव आफैंले जित्ने रणनीति बनाएको बताए। ‘माहोल भएर मात्र चुनाव जितिँदैन। चुनाव जित्न रणनीति चाहिन्छ,’ सुवेदीले भने, ‘मतदानस्थलमा मतदाता पुग्ने वातावरण हामी बनाउँछौं।’

गठबन्धनको हिसाव
आफ्नो सबै शक्ति भरतपुर खन्याएको नेपाली कांग्रेसले रेनु जिताउन सबै संयन्त्र परिचालन गरेको छ। गठबन्धनले निर्णायक वडाहरुलाई बढी प्राथमिकता दिएका छन्। घरदैलो अभियान त्यही अनुसार गरेका छन्। गठबन्धनले ६४ हजार बढी मत ल्याएर चुनाव जित्ने विश्लेषण गरेको छ। 

गठबन्धनका एक नेताका अनुसार बजार क्षेत्र, भरतपुर र पश्चिम चितवनबाट खस्ने मत निर्णायक छ। बजार क्षेत्रमा नेवार, मारवाडी र अन्य व्यवसायी, भरतपुर क्षेत्रमा धार्मिक, ओम शान्ति, स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्र, पश्चिम चितवनमा दूध किसान, तरकारी किसान र कृषि क्षेत्रमा लाग्ने किसानले सहयोग गर्ने गठबन्धनले विश्वास लिएको छ। 

सुवेदीले अपेक्षा गरेको केही सहयोग 
एमालेका विजय सुवेदीले गठबन्धनकै केही दलहरूबाट सहयोग लिने प्रयास भइरहेको खुलाए। ‘केही साथीहरुले सहयोग गर्ने बचन दिनुभएको छ, संस्थागत रुपमा सम्झौता गरिएको छैन,’ नेपालखबरसँग कुरा गर्दै सुवेदीले भने।

को कति ढुक्क? 
नेपालखबरले तीनदिनसम्म भरतपुरका तीन उम्मेदवार रेनु, विजय र जगन्नाथको चुनावी घरदैलो अभियान पछ्याएको थियो। तीन उम्मेदवारमध्ये रेनुको पक्षमा हिँड्ने संख्या केही ठूलो देखिन्थ्यो।

अन्तिम पटक मेयर उठेको, अधुरा काम गर्न चाहेको भनेर  रेनुले ‘इमोसनल’ कुरा उठाएकी छिन्। विजयले गुरुयोजना, रणनीतिक योजना भनेर केन्द्रीय नीतिसँग जोडेका छन्। उनले आफू कुनै दलको नहुने गरी व्यवहार गर्ने बताएका छन्।

नीति तथा योजनामा राखे पनि भरतपुरले यसपटक उधारो होइन, नगदमै काम गर्ने नेतृत्व खोजेको छ। त्यसबाहेक एमालेका कृष्णभक्त पोखरेलले संविधान सभा सदस्य र २०७४ मा संघीय सांसद भए पनि भरतपुरको विकासमा बजेट पार्न नसकेको गठबन्धनले आरोप लगाएको छ। स्थानीयले भरतपुरको अलपत्र विकास अघि बढाउन केन्द्रीय नेता आवश्यक रहेको बताएका छन्। 

रेनुसँग होइन, प्रचण्डसँग छ असन्तुष्टि  
सर्वसाधारणका कुरा पत्याउने हो भने उनीहरुको रिस रेनुसँग होइन, प्रचण्डसँग छ। वैशाख २२ गते भरतपुरमा चुनावी सभामा प्रचण्डले दिएको अभिव्यक्तिले सर्वसाधारण पनि बिच्किएका छन्।

‘रेनु दाहालप्रति कसैले रिस गरेकै होइन,’ राजनीतिक विश्लेषण गर्दै आएका ती हेडमास्टरले भने, ‘प्रचण्डसँगको रिसको घानमा रेनु परिन्।’

कांग्रेसकै कतिपय नेताहरु पनि प्रचण्डकै कारण रेनुसँग रिस पोखिएको बताउँछन्। ‘अघिल्लो पटक रुखमा मत हालेकै त्यही भएर हो, एक नेताले भने।

जगन्नाथ पौडेलको क्षेत्रपुरमा भएको घरदैलोमा एक व्यक्तिले नामै लिएर प्रचण्ड र रेनुलाई हराउनुपर्ने बताए।

‘प्रचण्डको सेखी झार्ने हो भने अहिले एमालेले पनि जगन्नाथ पौडेललाई भोट हाल्नुपर्छ,’ नाम गोप्य राख्न आग्रह गर्दै ती सहभागीले भने, ‘यहाँ रेनुसँग भन्दा पनि प्रचण्डसँग मान्छे बढी आक्रोशित छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .