निर्वाचन विशेष


भरतपुरमा १२ वडा गनिसक्दा रेनुको जित कति सुरक्षित?

भरतपुरमा १२ वडा गनिसक्दा रेनुको जित कति सुरक्षित?

सागर न्यौपाने
जेठ ६, २०७९ शुक्रबार २३:९, काठमाडौँ

२०५१ सालमा चितवनको क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता काशीनाथ अधिकारीले चुनाव जिते। त्यसबेला उनलाई चुनाव जिताउने मुख्य मत खसेको ठाउँ थियो– भोजाड बस्ती।

त्यो बस्ती अहिलेको भरतपुर महानगरपालिकाको वडा नम्बर ११ र १२ मा पर्छ। २०५१ देखि गढका रुपमा रहेको यो क्षेत्र नै एमालेलाई निरन्तर संघीय संसदमा पुर्याउने आधार भएको अधिकारी बताउँछन्।

२०७० काे संविधान सभा र २०७४ काे संघीय संसदमा साेही क्षेत्रबाट एमालेका कृष्णभक्त्त पाेखरेल निर्वाचित भएका थिए।

‘मलाई २०५१ मा सांसद बनाउने महत्वपूर्ण मत अहिलेको वडा ११ र १२ बाटै खसेको थियो,’ अधिकारीले नेपालखबरसँग भने।

३० वैशाख २०७९ मा भएको स्थानीय चुनावमा पनि एमालेले भरतपुर महानगरपालिका जित्ने मुख्य आधार त्यही ११ र १२ मा रहेको निर्णायक मतलाई देखेको थियो।

त्यसबाहेक अघिल्लो चुनावमा महानगरका १४ वटा वडा जितेकाले एमालेले त्यहाँबाट राम्रै मत खस्ने अनुमान ग¥यो। यही भएर भरतपुरमा विजय सुवेदीलाई एमालेले उठायो। बीचको तटस्थ मत पनि सुवेदीले पाउने एमालेको विश्लेषण थियो।

यो समाचार तयार पार्दासम्म भरतपुरको ११, र १३ वडाको मतगणना भइरहेको छ। त्यसअघि नै वडा १ देखि १० सम्म मतगणना सकिएको छ।

वडा नम्बर १ देखि अग्रता लिएकी रेनु दाहालको मत घटाएर एमालेले वडा नम्बर १० देखि अग्रता लिने अपेक्षा गरेको थियो। तर, त्यसो भएन।

किनभने, ०७४ मा एमालेले जितेका २, ४, ५, ७, ९ र १० र १२ नम्बर वडामध्ये एमालेले यसपटक ३ र १२ नम्बर वडा मात्रै जित्यो।

विगत २८ वर्षदेखि गढका रुपमा रहेको वडा ११ मा एमालेलाई सोचेजस्तो मत आएन मात्र होइन, निकै कम मत विजय सुवेदीले पाए। यही कुराले एमाले अहिले चिन्तित छ।

हुन त अझै १८ वडाको मत गणना गर्न बाँकी छ। तर, ११ वटा वडा गणना भइसक्दा जुन मत खस्ने प्रकृति देखिएको छ, यसले एमालेलाई झस्काएको छ।

‘हामीले भरतपुर महानगर जित्ने मुख्य मत वडा ११, १२ बाट खस्ने अपेक्षा गरेका थियौँ,’एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालखबरसँग भने, ‘अपेक्षा गरेको मत आएन मात्र होइन कि हाम्रोभन्दा बढी मत नेकपा माओवादीबाट उम्मेदवार बनेकी रेनु दाहाललाई खसेको छ। यसले हामीलाई गम्भीर बनाएको छ।’

वडा नम्बर १२ भने एमालेले जितेको छ। तर, एमालेका वडाध्यक्षले पाएको मत जति मेयरमा सुवेदीले पाएनन्।

मतगणनामै रहेका एक नेताले नेपालखबरलाई बताए अनुसार एमालेका उम्मेदवारलाई मत कम परेको थियो।

‘एक छाप प्रमुख पद हँसिया हथौडामा हालेर अरु सबै सूर्य चिन्हमा लगाइएको मतपत्र धेरै भेटिएको थियो,’ उनले भने, ‘सुरु–सुरुमा हामीले केही मत उता गयो होला भन्ने सोचेका थियौँ पछि अरु गणना हुँदा त्यो क्रम निरन्तर जस्तै देखियो। सायद २ सय भन्दा बढी मत हँसिया हथौडामा परेको थियो।’

यही तथ्यका कारण एमालेले नतिजा आफ्नो अनुकूल आउने सम्भावना कम देख्न थालेको छ। यो क्रम अन्य वडामा पनि हुन सक्ने भय एमालेमा छ।

‘सुकुम्बासी बस्ती, ग्रामिण भेग र सामुदायिक वन क्षेत्र पर्ने वडा ११ र १२ ले हामीलाई निरास बनायो, हामीले अपेक्षा गरेभन्दा निकै फरक नतिजा आयो,’ अध्यक्ष न्यौपानेले थपे। यी दुवै वडामा ग्रामीण बस्ती, सुकुम्बासी बस्ती र सामुदायिक वन क्षेत्र पर्छन्। त्यही मत प्रभावित भएको एमालेको आँकलन छ।

यसैगरी मत खसेको भए एमालेले भरतपुर महानगर गुमाउने लगभग आकलन एमालेभित्र हुन थालेको छ। ‘यसपछिका १३ र १४ वडामा माओवादीको प्रभाव छ, १५ मा कांग्रेसको प्रभाव छ,’ कांग्रेसका एक नेताले भने, ‘अब हामी रेनु दाहालको जीत नजिक छौँ, अहिले भएको अग्रता अब झन् बढ्छ।’

तर, एमाले अध्यक्ष न्यौपाने अझै वडा १६ देखि १९ सम्म निर्णायक मत खस्ने सम्भावना देख्छन्। ‘वडा १६ बाट हाम्रो प्रभावित मत बढ्छ, १७, १८ र १९ सम्म त्यो रहन्छ,’ एमाले नेता न्यौपानेले नेपालखबरसँग भने, ‘विजय सुवेदीजी हुर्किएको बढेको र पढेको त्यो क्षेत्रबाट हामीलाई मत थप हुने देखिन्छ र मतान्तर घटाएर २७, २८ र २९ वडासम्म पुग्दा जित्न सक्छौँ।’

उनले त्यसरी भने पनि तथ्यले भने त्यस्तो देखाउँदैन।

अहिलेसम्म गणना भएका मध्ये एमालेले जम्मा वडा नम्बर ३ मात्र जितेको छ, अन्य सबै वडा गुमाएको छ। वडा ७ र ९ एकीकृत समाजवादीले जित्दा अन्य सबै वडा कांग्रेसले जितेको छ।

जबकि २०७४ मा एमालेले वडा नम्बर २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ वडा जितेको थियो।

त्यसबेला कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ जितेको थियो।

माओवादी केन्द्रले १३, २५ र २६ तीनवटा वडा मात्र जितेको थियो। त्यसबेला माओवादीले जितेका वडाहरुमा अहिले मतगणना हुनै बाँकी छ।

त्यसबाहेक एमालेकै गढबाट रेनुले मत पाएपछि लगभग चुनाव जित्ने सम्भावना बढ्दै गएको माओवादीका नेताहरु बताउँछन्।

गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएका छन्। त्यो गठबन्धन भरतपुरमा पनि छ।

त्यही भएर पनि गठबन्धन महानगर प्रमुख, उपप्रमुख सबै जित्नेमा ढुक्क देखिन्छ।

पश्चिम चितवन लागेपछि रेनुको अग्रता झन् बढ्छ?
कांग्रेस र माओवादी केन्द्रका नेताहरुले अब पश्चिमतिर लागेपछि रेनुको अग्रता झन् बढ्ने विश्लेषण गरेका छन्।

‘अघिल्लोपटक प्रमुख हुँदा पश्चिम चितवनमा गरेको विकास, कृषि, किसानलाई दिएको अनुदान लगायतले त्यस क्षेत्रबाट रेनुकै पक्षमा राम्रो मत खस्ने अनुमान गलत नहोला,’ रेनुको चुनावी प्रचारमा खटिएका एक नेताले भने, ‘हामीलाई जित दिलाउने निर्णायक मत त्यही छ।’

एमालेलाई निराश बनाउने तत्व
गठबन्धनकी रेनु विरुद्ध चितवनमै सबैभन्दा राम्रो मानिएका विजय सुवेदीलाई प्रमुख पदको उम्मेदवार बनाएको एमालेले कांग्रेसको असन्तुष्ट पक्षको मत आफूतिर आउने अपेक्षा गरेको थियो।

तर, त्यसो भएन, कांग्रेसको असन्तुष्ट पक्षको मत सूर्यमा खसेन बरु त्यो मत रेनु विरुद्ध बागी उम्मेदवार उठेका जगन्नाथ पौडेलले मत पाइरहेका छन्।

पछिल्लो पटक सार्वजनिक मतगणना परिणाम अनुसार पौडेलले झण्डै ९ हजार मत ल्याइसकेका छन्। यो संख्या अझै धेरै बढ्ने देखिन्छ।

पौडेलले पाएको मतबाट पनि एमालेले अब महानगर जित्ने सम्भावना क्षीण हुन थालेको ठहर गरिसकेको छ।

‘अघिल्लो पटक देवी ज्ञवालीलाई कांग्रेसकै असन्तुष्ट पक्षको मत खसेको थियो,’ अध्यक्ष न्यौपानेले नेपालखबरसँग भने।

‘झन् लोकप्रिय नेता विजयजीलाई त्यस्तै मत खस्छ भन्ने विश्लेषण थियो तर, जगन्नाथले सबै मत लग्दा त्यो मत हाम्रोमा क्यास भएन,’ उनले भने।

२०७४ मा माओवादीसँग असन्तुष्ट कांग्रेसको  मत रुख चिन्हमै खसेर बदर भएको थियो। यसपटक पनि गठबन्धले ३ हजार भन्दा बढी मत रुखमा खस्ने अनुमान गरेको थियो। तर, यसपटक रुखमा भन्दा बढी स्वतन्त्र उम्मेदवार बनेका चितवनकै कांग्रेसकै पुराना नेता पौडेललाई खसेको छ।

चितवनका बुद्धिजीवि, विश्लेषक र पुराना नेताहरुले पौडेलले ७ हजार मत ल्याउने र ३ हजार भन्दा बढी मत रुखलाई खस्ने सम्भावना रहेको विश्लेषण गरेका छन्।

कांग्रेसको असन्तुष्ट पक्षको मत विजयले नपाउनु अनि आफ्नै बर्चस्व रहेको वडाबाट गठबन्धनकी उम्मेदवार रेनुलाई क्रस मत गएपछि जानुले भतरपुर महानगरको नतिजा लगभग कसको पक्षमा जान्छ भन्न सकिने नेताहरु बताउँछन्।

तथ्यमा हेरौँ कुन वडामा कसले कति मतले जिते?

वडा नम्बर १

कांग्रेसका केशव महर्जन– १३९७

एमाले शुक्रकुमार श्रेष्ठ– १३१३

वडा नम्बर २

कांग्रेस, मनोज रानाभाट २०९९

एमाले कृष्णबहादुर केसी २०६५

वडा नम्बर ३

एमाले विकास थापा १६६६

कांग्रेस भरतप्रसाद लामिछाने १०४९

वडा नम्बर ४

कांग्रेस, अर्पण पोखरेल २५३०

एमाले भानुभक्त सापकोटा १६३३

वडा नम्बर ५

कांग्रेस युद्धप्रसाद श्रेष्ठ २०७२

एमाले पदमपाणि सुवेदी १९५१

वडा नम्बर ६

कांग्रेस कृष्णलाल श्रेष्ठ २७३५

एमाले डोलनाथ अधिकारी २११७

वडा नम्बर ७

एकीकृत समाजवादी राजेन्द्रमणि काफ्ले, १८९४

एमाले सनतकुमार लामिछाने १७२२

वडा नम्बर ८

कांग्रेस जीवनाथ कँडेल २०१९

एमाले तिकलबहादुर दर्लामी मगर १७२६

वडा नम्बर ९

एकीकृत समाजवादी यमलाल कँडेल १९६५

एमाले लीला बल्लौ भुसाल १४०६

वडा नम्बर १०

कांग्रेस परमेश्वर खनाल २४२८

एमाले भक्तिप्रसाद गौतम २१०१

रेनुको अग्रता चार हजार
चितवनको भरतपुरमा १२ वटा वडा गणना हुँदा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो पार्दै लगेकी छन्। शुक्रबार बेलुका सवा १० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार ६४ हजार १ सय ८५ मत गणना भएको छ।

१ देखि १२ वटा वडाको गणना सकिँदा रेनुले २४ हजार ६ सय ६० मत ल्याएकी छन्। उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २० हजार ६ सय ६३ मत ल्याएर पछ्याइरहेका छन्। रेनु र विजयबीचको मतान्तर ३९ सय ९७ छ।

अहिले वडा १३ र १४ को गणना भइरहेको छ।

वडा ११ र १२ मा एमालेको केही मत रेनुलाई खसेको देखिन्छ।

रेनुको बागी उम्मेदवार बनेका कांग्रेसका जगन्नाथ पौडेलले ८ हजार ८ सय ४० मत पाएका छन्।

निरन्तर रेनुको मत काटिरहेका पौडेलले पछिल्लो पटक भने मत काट्ने रफ्तार कम हुन थालेको छ। २० प्रतिशतसम्म मत काटेका पौडेलको वडा ११ र १२ पुग्दा मत काट्ने दर घटेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .