निर्वाचन विशेष


भरतपुरमा रेनुको दोस्रो इनिङ : यसरी सम्भव भयो फराकिलो जित

भरतपुरमा रेनुको दोस्रो इनिङ : यसरी सम्भव भयो फराकिलो जित

सागर न्यौपाने
जेठ १०, २०७९ मंगलबार १५:४७, काठमाडौँ

पहिलो पटक चितवनको भरतपुर महानगर प्रमुख पदमा मनोनयन दर्ता गराउँदा रेनु दाहालले भनेकी थिइन्, ‘म तपाईंहरुलाई निराश हुन दिन्नँ।’

कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेकी उनले ०७४ को निर्वाचनमा निकै कठिन जित निकालिन्। उनले त्यसबेला मात्र २०३ मत अन्तरले जितेकी थिइन्।

तर, यसपालि दोस्रो कार्यकालका लागि गठबन्धन उम्मेदवार बनेकी रेनुलाई चुनाव जित्न त्यति धेरै मुस्किल भएन। 

स्थानीय तहको निर्वाचनमा दोस्रो पटक उम्मेदवार बनेर हार्नेहरूको सूची लामो छ। दोहोरिन सफल भएकाहरु पनि धेरै छन्। तर, पहिलो पटकभन्दा दोस्रो पटक सानदार विजय हात पार्ने कमै छन्। रेनु तिनैमध्ये एक हुन्।

यो चुनावको नतिजाबाट पनि थाहा हुन्छ– रेनुले पहिलो कार्यकालमा भरतपुरबासीलाई निराश बनाएकी रहेनछिन्। 

रेनुले राप्रपा-एमाले गठबन्धनका उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेकी छन्। र, यसपटक पनि भरतपुर महिला मेयर पाउने एक मात्र महानगर बनेको छ।

भरतपुरबासीले उनको कामलाई सराहना नगरेको भए रेनुले यत्रो मतान्तरले जित्ने कल्पना गर्न सकिन्नथ्यो। 

उम्मेदवार बन्नै सकस
रेनुलाई महानगरको प्रमुखमा दोहोरिने चाहना थियो। तर, त्यो त्यति सजिलो थिएन। किनभने भरतपुर माओवादीको बलियो जनाधार भएको ठाउँ होइन। एक्लै चुनाव जित्न कठिन थियो।

तर, सत्ता साझेदार दलहरुबीच चुनावी तालमेलको निर्णय उनका लागि शुभखबर बन्न पुग्यो। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका थिए। 

कतिपयले माओवादी अध्यक्ष प्रचण्डले छोरी रेनुकै लागि गठबन्धन बनाएको टिप्पणी पनि गरे।

तर, त्यसपछि दोस्रो बाधा आइलाग्यो। गठबन्धनको सहयात्री कांग्रेसको स्थानीय नेतृत्वले मेयरमा दाबी गर्यो। अघिल्लो पटक माओवादीलाई मेयर छाडेकाले यसपटक आफूहरुले पाउनैपर्ने उनीहरुको तर्क थियो। 

केन्द्रमा भरतपुरको टिकट रेनुले पाउने तय भइसक्दा पनि चितवनमा कुरा मिलेन। कांग्रेसका जगन्नाथ पौडेलले बागी उठ्ने निर्णय लिए। सभापति शेरबहादुर देउवा तथा कांग्रेसका नेताहरुले फकाउँदा पनि उनी पछि हट्न तयार भएनन्। मनोनयन दर्ताको दिन रेनुको भन्दा जगन्नाथको जुलुस ठूलो थियो।

यस्तो अवस्थामा कांग्रेसको पुरानो गढमा रेनुले जित्न सम्भव नहुने आकलन कतिपयले गरे। 

तर, रेनुलाई हराउने अन्य दल र उम्मेदवारको जोडबल काम लागेन। दोस्रो पटक भरतपुर महानगरको प्रमुख जित्दा उनले १२ हजार ४ सय ४६ मतको फराकिलो अन्तर कायम गरिन्। 

एमालेका विजय सुवेदीलाई रेनुले यति ठूलो अन्तरमा जित्ने आकलन कसैले गरेका थिएनन्। किनकि चितवन एमालेले यसपटकको चुनावमा सबैभन्दा प्रभावशाली नेतालाई उठाएको थियो। बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिन लगाएर उम्मेदवार बनाइएका थिए विजय।

एमालेले चितवनमा बलियो उपस्थिति रहेको राप्रपासँग गठबन्धन पनि गरेको थियो। एमाले प्रचण्डको साइनो जोडिएको भरतपुरमा जसरी पनि माओवादीलाई हराएर शक्ति प्रदर्शन गर्न चाहन्थ्यो।

कांग्रेसका बागी पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन्।

अघिल्लो कार्यकालको आफ्नो कामकै कारण सहज चुनाव जितेको रेनु बताउँछिन्। 

‘देशभरीको ध्यान भरतपुरमा थियो। विपक्षीहरूको निसाना पनि जसरी पनि गठबन्धनको उम्मेदवारलाई हराउनुपर्छ भन्ने थियो,’ मंगलबार चुनाव जितेपछि रेनुले भनिन्, ‘तर, जनताले विगत पाँच वर्षको कामको अनुमोदन गरिदिनु भएको छ।’ 

उनले कांग्रेसको मतदाताको मात्र होइन, एमालेका मतदाताको मत पनि पाएको विश्लेषण भइरहेको छ। 

पहिलो कार्यकालमा कस्ता काम गरिन् त रेनुले?
रेनुले भरतपुरमा गरेको मुख्य काम भनेको सडक निर्माण र कालोपत्रे हो। महानगरको सबै वडामा कालोपत्रे मात्र भएको छैन, चितवनको स्वरुप नै फेरिने गरी सडक चौडा बनाइएको छ, ढल निकासदेखि भित्री सडक पनि चौडा बनाइएको छ।

पाँच वर्षमा ६१० किलोमिटर सडक कालोपत्रे गरिएको छ। थप ४५० किलोमिटर सडक कालोपत्रे हुँदैछ। ८ अर्ब २० करोड लागतमा नेपालकै सबभन्दा लामो ८८.६ किलोमिटरको महानगरीय रिङरोड पनि बनिरहेको छ।

यस्तै १ अर्ब ९८ करोड ७३ लाखको लागतमा पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक बनाउने काम जारी छ।

बाइपास ४ लेन सडक विस्तार गर्दै ढल बनाउने काम भइरहेको छ। यसैगरी १९ किलोमिटर हुलाकी सडकको विस्तार र स्तरोन्नति भइरहेको छ।

भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माण भइरहेको छ। भरतपुरका सडक छेउ (१९ किमि) स्मार्ट सडक बत्ती जडान गरिएको छ। साथै, भूमिगत विद्युत् लाइन विस्तारको काम जारी छ।

शारदानगर, जखडिमाई, दिव्यनगर, पार्वतीपुर र धनगढा खानेपानी आयोजना लगायतका परियोजनाले भरतपुरमा खानेपानीको अभाव हुन पाएन। भरतपुर अस्पतालमा ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भयो।

भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स–रे सेवासहित १५ शय्या र शिवनगरमा ५० शय्याको आयुर्वेदिक अस्पताल निर्माणको काम पनि भएको छ।

किसानलाई  दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान, दूध, मासु र माछामा महानगरलाई आत्मनिर्भर बनाउने कार्यक्रम, एक वडा एक पशु सेवा प्राविधिकको व्यवस्था, अत्याधुनिक सुविधा र प्रविधियुक्त पशु वधशाला, गौशालाको निर्माण, भेटेरिनरी एम्बुलेन्सको व्यवस्था पनि उनले गरिन्।

५ वर्षको अवधिमा ३५० वटा साना सिँचाइ र २१ वटा मझौला सिँचाइ परियोजना सम्पन्न गरी ४५५ बिघा क्षेत्रफलमा बाह्रै महिना सिँचाइको व्यवस्था उनले मिलाएकी छन्।

जनयुद्धमा सहभागी
रेनु २०३३ असार २६ गते चितवनमै जन्मेकी हुन्। उनी राजनीति बुझ्ने भएदेखि नै कम्युनिस्ट राजनीतिमा लागिन्। १० वर्षे माओवादी जनयुद्धका क्रममा उनी बुबा प्रचण्डजस्तै भूमिगत भइन्।

त्यसबेला प्रवासमा काम गरेकी उनी अखिल भारत नेपाली महिला संगठनको अध्यक्ष पनि बनेकी थिइन्। रेनुले माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को महासचिव भएर पनि काम गरिन्।

माओवादी पार्टीभित्र पोलिटब्युरो सदस्यसम्म भएकी रेनु युद्धकै बेला रोल्पाको जिल्ला सह-इन्चार्ज भएकी थिइन्।

शान्ति प्रक्रियामा आएपछि ०६४ जेठ १३ गते देखि २०७९ जेठ १४ सम्म उनी संविधानसभा सदस्य बनिन्।

तर, २०७० मा भएको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उनको लज्जास्पद हार भयो। संविधान सभा चुनावमा काठमाडौँबाट पराजित भएपछि उनी चितवन झरेकी थिइन्।

२०७४ को स्थानीय निर्वाचनमा उनले भरतपुर महानगर प्रमुख पदको टिकट पाइन्। तर, त्यो चुनाव विवादरहित हुन सकेन।

मतगणना हुँदै गर्दा जेठ १४ गते १९ नम्बर वडाको ९० मतपत्र च्यातियो। मतपत्र च्यातिएपछि मतगणना रोकियो।

अदालतको आदेशपछि २० साउन २०७४ मा मतपत्र च्यातिएको १९ नम्बर वडामा फेरि चुनाव भयो। र, उनले झिनो मत एमालेका देवी ज्ञवालीलाई पराजित गरिन्। 

तर, मेयरको दोस्रो इनिङमा भने रेनुले ज्यादा मतदाताको विश्वास आर्जन गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .