काठमाडौं। भारतीय लेखक अरुन्धती रोयको पुस्तक 'द डाक्टर एण्ड द सेइन्ट'को नेपाली अनुवाद 'ती विद्रोही, ती महात्मा' सार्वजनिक भएको छ।
बेला पब्लिकेशनले प्रकाशन गरेको उक्त पुस्तकलाई कवि विनोदविक्रम केसी र पत्रकार नरेश ज्ञवालीले अनुवाद गरेका हुन्।
बीआर अम्बेडकरको पुस्तक 'एन्नआइलेएसन अफ कास्ट'बारे रोयले लामो निबन्ध 'द डाक्टर एण्ड द सेइन्ट' लेखेकी थिइन्। अम्बेडकरको सो कृतिको एनोटेटेड भर्सन प्रकाशन गर्दा रोयको निबन्धलाई भूमिकाका रुपमा प्रकाशन गरेको थियो।
पछि छुटै पुस्तकका रुपमा प्रकाशन गरिएको थियो। ‘अम्बेडेकरको अत्यन्तै प्रभावकारी कृतिमध्ये एन्नआइलेएसन अफ कास्टबारे अरुन्धती रोयले गरेको प्राज्ञिक विश्लेषणले अम्बेडेकरबारे जरुरी विमर्श सुरु गर्न मद्दत पुग्नेछ’, लेखक उज्ज्वल प्रसाईले पुस्तकबारे लेखेका छन्।
करिब दशकभन्दा बढी समयदेखि अनुवादमा सक्रिय कवि विनोदविक्रम केसी पुस्तकको भूमिकामा लेख्छन्, ‘यो निबन्ध खासमा इतिहासले अम्बेडकरमाथि गरेका अन्यायविरूद्ध अरून्धतीको बुलन्द ‘मुर्दावाद’ हो । यो एक जना प्रखर चिन्तक र दलित नेताको चरितचर्चा होइन । अनि, संसार जसलाई महान् भनेर कहिल्यै थाक्दैन, जो महात्मा गान्धीका नामले विश्व इतिहासमा वन्दित छन्, उनीउपर एक जना विद्रोही र प्रतिरोधी लेखकको कटाक्ष मात्र पनि होइन यो । बरू इतिहासको इमानदार पुनव्र्याख्या गर्ने अरून्धतीको प्रयास हो।’
अरून्धतीले बेला पब्लिकेसनलाई द डक्टर एन्ड द सेन्टलाई नेपालीमा अनुवाद गरेर छाप्ने अनुमति दिएकी थिइन्। र उनले आफ्ना अन्य थुप्रै निबन्धको अनुवाद गर्ने अनुमति पनि बेलालाई दिएकी छिन् ।
Shares

प्रतिक्रिया