काठमाडौं । कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्त भएपछि कलाकारले पनि खुसी व्यक्त गरेका छन्।
कलाकार दीपकराज गिरीले सरकारलाई धन्यवाद दिँदै यो जनप्रिय निर्णय भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गर्दै भावुक स्टाटस लेखेका छन्।
‘उनको कार्यकाल थपियोस् भनेर एकताका खुबै कराइयो! उफ्रियो!! यसको मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाँक्न सक्दैन भनेर पनि होइन, आज पनि म कहिलेकाहीँ त्यो कालो अँध्यारो र चिसो रातहरूलाई सम्झन्छु। त्यतिबेला सॉझ नै नपरोस् जस्तो लाग्थ्यो! करीब एक दशक त्यस्तो निरस र कष्टकर जीवन बिताउन बाध्य भइयो’ उनले लेखेका छन्, ‘आज ढिलै भएपनि उनको पुनः आगमनले म जस्ता धेरै नेपालीलाई खुशी लागेको हुनु पर्छ! राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको छ!!’
दीपकराजले गतवर्षको भदौमा कुलमानलाई पुनः नियुक्तिको अपेक्षा गर्दै एउटा स्टाटस पोस्ट गरेका थिए। उनका स्टाटसकै आधारमा कतिपय सञ्चारमाध्यमले ‘कुलमानको पुनः नियुक्ति’ भन्दै भ्रामक समाचार पनि प्रकाशित गरेका थिए।
यद्यपि दीपकको आशय भने कुलमान पुनः नियुक्ति गरिदिए हुन्थ्यो भन्ने थियो। त्यतिबेला दीपकले लेखेका थिए, ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ। सरकारसँग यस्तो आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन।’

प्रतिक्रिया