ad ad

कला


केपी ओलीले करिश्मा मानन्धरलाई सुनाएको माझीको कथा के थियो?

केपी ओलीले करिश्मा मानन्धरलाई सुनाएको माझीको कथा के थियो?

नेपालखबर
असोज २, २०७८ शनिबार १९:५, काठमाडौँ

 अभिनेत्री करिश्मा मानन्धर शुक्रबारदेखि कक्षा १२ को परीक्षा दिन व्यस्त छिन्। शुक्रबार सोसियोलोजी एन्थ्रोपोलिजको परीक्षा दिएकी थिइन्।  
 

परीक्षाको पहिलो साँझ हिजो उनको मोबाइलमा राति १० बजे एउटा फोन आयो। स्क्रिनमा नाम थियो- केपी शर्मा ओली। 

उनी छक्क परिन्।  'मजाक हो कि भन्ने पनि लग्यो, तर उहाँ हाम्रो देशको पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो,' सामाजिक सञ्जालमा सञ्जालमा लेखेकी छन्।

उनले परीक्षाबारे शुभेच्छा प्रकट गर्न पूर्व प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको बताइन्। उनले ओलीको आवाज सुन्दा घरमुलीले छोराछोरीलाई गरे जस्तो सुनिएको समेत उल्लेख गरिन्।

ओलीले आफूलाई परीक्षाबारे सोधेको र  आफूलाई ओली भन्ने विश्वास नलागेपछि डुंगाको कथा भनेपछि विश्वास लागेको करिश्माले बताइन्। 

उहाँले  सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो के पी जी हो,' उनले खुसी व्यक्त गर्दै लेखेकी  छन्, 'आधुनिकताको यो  दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद के पी बुवा।'

करिश्माले सामाजिक सञ्जालमा राखेपछि उनको टिकाटिप्पणी भए। समाचार बने। 'करिश्मा आफैं यति ठूलो स्टार हो। ओलीले फोन गर्दैमा यति खुसी र उत्साह किन?,' एकाथरीले यस किसिमले फेसबुक स्टाटसमाथि टिप्पणी गरेका छन्। कतिपयले भने यो कुरामा विश्वास नभएको प्रतिकृया सामाजिक सञ्जालमा दिएका छन्।

'म कुनै स्टार होइन । एउटा राजनेताले मलाई फोन गर्नुहुन्छ भने त्यो खुसीको कुरा हो,'  करिश्मा भन्छिन्,' करिश्मा सुड्डीले केपी ओलीको कल आयो भनेर खुसी मनाइरहेकी छन्। मलाई बिल गेट्सले नि फोन गर्छ भन्दै फेसबुकमा मलाई उडाइए पनि। तर मैले झूटो बोल्नुपर्ने आवश्यक नै छैन नि।'

ओलीले सुनाएको माझीको कथा 

करिश्माले आफूलाई ओलीले माझीको कथा सुनाएर देशबारेमा चिन्ता जगाएको बताएकी थिइन्। 'के कथा थियो त माझीको,' हामीले करिश्मालाई सोध्यौं। 'राइट पर्सन इन् द राइट प्लेस भन्ने कथा सुनाउनुभयो,' उनले भनिन्, 'उहाँले सुनाउनुभएको कथाको सारांश यस्तो थियो।'

एउटा डुंगा थियो। पानीमा बग्दै बग्दै अघि बढिरहेको थियो। डुंगामा आर्टिकेक्ट पनि चढेको थियो, वैज्ञानिक पनि चढेको थियो, डाक्टर चढेको थियो, धेरै क्षेत्रका विज्ञ मान्छे त्यसमा चढेका थिए। तर डुंगा हाँक्ने मान्छे भने सबैभन्दा सामान्य माझी थियो। उसले डुंगा नदीबीचमा लग्यो। बीचमा पुगेपछि बाढी आयो। डुंगा हल्लियो। अनि डुब्यो। 

त्यस्तो बेलामा त्यहाँ न डाक्टरले पार लगाउन सक्थ्यो, न वैज्ञानिकले। त्यहाँ त्यही सामान्य माझीले नै डुंगालाई पार लगायो। बिरामी वा घाइते मान्छे बचाउन डाक्टर चाहिन्छ, घर बनाउन इन्जिनियर चाहिन्छ। त्यसैगरी हरेक क्षेत्रमा हरेक क्षेत्रको विज्ञ व्यक्ति चाहिन्छ। तर त्यो खोलाको डुंगामा भने त्यतिबेला सामान्यत लाग्ने तिनै माझी नै चाहिन्थ्यो।'

ओलीले उक्त कथाको प्रसंग जोड्दै आफूलाई भनेको करिश्मा सम्झिन्छिन्, 'ज्ञान तपाईंसँग नभएको होइन। सीप छ। तर सर्टिफिकेट पनि चाहिन्छ। मान्छेको जीवनमा हिँड्दा 'राइट पर्सन इन द राइट प्लेस' चाहिन्छ। तपाईंले पढाइलाई अघि बढाउनुहोला शुभकामना!'

करिश्माले ओलीलाई खुसी हुँदै धन्यवाद दिइन्। आफ्नो परिवारमा यतिबेला कोही अभिभावक नभएको बेला ओलीको उक्त उपदेशले बुवा जस्तै अनुभूति गराएको करिश्माले बताइन्। 'त्यसकारण कृतज्ञ भएँ। अनि फेसबुकमा राखेँ,' उनले सुनाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .