१५२ औँ गान्धी जयन्तीको अवसरमा काठमाडौंमा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ।
नेपालस्थित कार्यवाहक भारतीय राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको शनिबार उद्घाटन गरिन्।
भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले चित्रकला प्रदर्शनीको आयोजना गरेको हो।
उक्त प्रदर्शनी सर्वसाधारणका लागि २०७८ असोज १७ देखि २२ गते सम्म खुला रहनेछ।
त्यस अवसरमा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा 'स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम' गरेको छ।
दूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले त्यही भवनमा रक्तदान शिविरको आयोजना गरेको छ।
उक्त शिविरमा दूतावासका अधिकारी, भारतीय समुदाय तथा नेपालमा रहेका भारतका मित्रहरु सहभागी रहेको दूतावासले जनाएको छ।
शनिबारै नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको उपस्थिति थियो।
पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित एक चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजबाफ प्रतियोगिता पनि भएको छ।
शनिबार बिहान भारतीय दूतावासस्थित गान्धीको शालिकमा दूतावासका अधिकारीहरूले माल्यार्पण गरि सम्मान प्रकट गरेका थिए।
प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरूको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादी का महोत्सव’ को एक कार्यक्रमको रुपमा गान्धी जयन्ती मनाइएको हो।



Shares

प्रतिक्रिया