निर्देशक शोभित बस्नेतले महानायक प्रकरणमा आफूले बोलेर गल्ती गरेको बताएका छन्।
कोरोना महामारी केही कम भएपछि सोमबार हलमा लागेको आफ्नो फिल्म ‘डाँडाको बरपीपल’ हेरिसकेपछि बस्नेतले महानायक राजेश हमाल नै भएको बताएका छन्।
'हो मैले गल्ती बोलेकै हो। यो कुरा मैले कयौँ पटक भनिसकेँ', उनले भने, 'गल्ती बोलेको कुरामा मैले यसअघि नै बोलिसकेको छु।'
त्यस्तै उनका पुत्र एवम् कलाकार सलोन बस्नेतले पनि महानायक प्रकरणमा आफूले पहिले नै बोलिसकेकोले अब थप नबोल्ने प्रतिक्रिया पत्रकारलाई दिए।
आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’ को ‘काट्दिम्ला जुँगा जम्मै’ गीत सार्वजनिक कार्यक्रममा उनले ‘भुवन केसी मात्रै नेपाली फिल्म क्षेत्रको असली महानायक’ भनेपछि विवादमा परेका थिए।
फिल्म क्षेत्रमा एक रुपैयाँ लगानी नगरेकाले यो उपाधिको हकदार राजेश हमाल हुन नसक्ने तर्क गरेपछि उनी सामाजिक सञ्जालमा चर्को आलोचनाको शिकार भएका छन्।
यसअघि नै उनले फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा राजेश हमालको तस्विरलाई प्रमुख अतिथि बनाएर आफ्नो बुझाइ गलत रहेको भन्दै दर्शकसँग माफी मागेका थिए।
उनले यसअघि हमाललाई ‘महानायक’ र केसीलाई ‘सुपरस्टार’ भन्ने वाचा गरिसकेका छन्।
Shares

प्रतिक्रिया