नेपाली कला तथा संगीत क्षेत्रमा पछिल्लो समय नयाँ नयाँ गीतका म्युजिक भिडिओको बाढी आइरहेको छ।
दिनहुँजसो नयाँ गीत र भिडिओ आउँदा चल्तीका मोडल, अभिनेता–अभिनेत्रीहरुले पनि मनग्गे आम्दानी गरिरहेका छन्।
अझ कतिपयलाई टिकटकको अभिनयले म्युजिक भिडिओसम्मको यात्रा गराइदिएको छ।
अहिले म्युजिक भिडिओमा सर्वाधिक व्यस्त अभिनेतामा पर्छन् पल शाह। उनलाई आफ्नो म्युजिक भिडिओमा खेलाउन चाहनेले कम्तीमा डेढ लाख पारिश्रमिक छुट्याउनुपर्छ।
उनले एकै महिनामा दुई दर्जन बढी म्युजिक भिडिओमा अभिनय समेत गर्न भ्याएका छन्।

त्यसपछिका व्यस्त मानिने कलाकार हुन् नाजिर हुसेन। यी अभिनेताले प्रस्ताव आएकामध्ये छानेर मात्रै खेल्छन्। उनको पारिश्रमिक पनि १ लाख माथि रहेको छ।
१ लाख पारिश्रमिककै वरिपरिमा पैसा लिनेमा पर्छन् पुष्प खड्का भने अर्का अभिनेता आकाश श्रेष्ठले ८० हजारदेखि १ लाख रुपैयाँसम्म पैसा लिन्छन्।
यसबाहेक टिकटकबाट आएका सुधिर श्रेष्ठले ५० हजार हाराहारीमा पारिश्रमिक लिन्छन्। त्यस्तै टिकटकबाटै उदाएका अभिनेता कमल सिंहले ३०÷४० हजार पारिश्रमिक लिन्छन्।
अभिनेत्रीतर्फ भने टिकटकबाट आएकी गरिमा शर्मा, उषा उप्रेती, बीना राउतलगायत छन्।
शर्माले ५० हजार रुपैयाँ हाराहारीमा पारिश्रमिक लिन्छिन् भने उषा र बीनाले समान ४० हजार पारिश्रमिक लिन्छन्।
अर्की अभिनेत्री अनिशा राईको पारिश्रमिक दर ६० देखि ७० हजारसम्म रहेको छ। नायिका आँचल शर्मा पनि म्युजिक भिडिओ खेलिरहेकी हुन्छिन्। उनले म्युजिक भिडिओमा लिने पारिश्रमिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म रहेको छ।

अर्की नायिका पूजा शर्माले एक लाख २० हजारदेखि डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छिन्।
यसबाहेक वर्षा राउतले ८० हजार माथि, वर्षा सिवाकोटीले ७० हजार माथि र म्युजिक भिडिओहरुमा समेत जमिरहेकी नायिका स्वस्तिमा खड्काले डेढ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन्।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि निकै ठूलो पारिश्रमिक लिने गरेकी छिन्। मोडल गीता ढुंगानाले ४० हजार रुपैयाँ लिन्छिन्।
Shares

प्रतिक्रिया