बलिउड अभिनेत्री मनीषा कोइरालाले अर्का अभिनेत्रीद्वय कंगना रनावत र आलिया भट्ट तथा अभिनेता रणवीर कपुरको प्रशंसा गरेकी छन्।
एक अन्तर्वार्तामा मनीषाले आफूलाई मनपर्ने कलाकारका बारेमा बताउने क्रममा उनीहरूको तारिफ गरेकी हुन्।
आलियाको काम गर्ने शैली निकै राम्रो तथा कंगना प्रतिभाशाली कलाकार भएको मनीषाले बताएकी हुन्।
यस्तै उनले कार्तिक आर्यनलाई राम्रो अभिनेता र रणवीर कपुरलाई महान् कलाकारको उपमा दिएकी छन्।
‘मैले आलिया भट्टको काम हेरेको छु र मलाई लाग्छ– उनी मैले गरेको कामभन्दा धेरै अगाडि छन्’, उनले भनेकी छन्, ‘कंगना पनि शानदार छिन्। मैले फिल्म ‘क्विन’ हेरेपछि उनको अभिनय मन पराएँ।’
कंगनाले सन् २००६ मा अभिनय यात्रा थालेकी थिइन्। अहिलेसम्म उनले ३० वटाभन्दा बढी फिल्म खेलिसकेकी छन्। यस क्रममा कंगनाले चारपटक राष्ट्रिय फिल्म पुरस्कार पनि जितिसकेकी छन्।
अभिनेत्री आलियाले भने सन् २०१२ बाट अभिनय सुरु गरेकी हुन्। उनले अभिनय गरेका ‘हाइवे, ‘उड्ता पन्जाब’, ‘राजी’ र ‘गली ब्वाइ’ राम्रा फिल्ममा गनिन्छन्।
Shares

प्रतिक्रिया