वरिष्ठ गीतकार तथा लेखक टेक तामाङले ‘धुन माधुरी’ शीर्षकमा बाँसुरीको धुन सार्वजनिक गरेका छन्। आफ्नै विभिन्न गीति संग्रहका ६ वटा कर्णप्रिय गीतलाई बाँसुरीको धुन बनाएका हुन्। धुन प्रख्यात् बाँसुरी वादक सम्पूर्ण लामाका हुन्।
गीतकार तामाङले करिब ३ महिना अगाडि अभिनेता तथा विमान क्याप्टेन विजय लामाद्वारा अभिनित ‘नेपाल आमा’ नामक म्युजिक भिडिओ सार्वजनिक गरेका थिए।
म्युजिक भिडिओ सार्वजनिक भएको ३ महिना नबित्दै बाँसुरीको धुन निकाल्नुभयो नि भनेर नेपालखबरले राखेको प्रश्नमा तामाङले भने, यो आधुनिक जमानामा मान्छेहरू व्यस्त बन्दै गइरहेका छन्, जीवन पद्धति र दिनचर्या फेरिँदै गएका छन्। मान्छेमा दिनप्रतिदिन बेचैन, निराशा, चिन्ता बढ्दै गएका छन्। मानिस अस्वस्थ बन्दै गइरहेका छन्। यस्तो परिस्थितिमा भावपूर्ण बाँसुरीको धुनले थेरापीको काम गर्न सक्छ। संगीतले दिमागलाई शान्त राख्न मद्दत गर्दछ, शरीरलाई आराम दिन्छ। स्नायु प्रणाली र तनावग्रस्त मांसपेशीहरूलाई आराम दिन्छ। बाँसुरी संगीतको धुनले चिन्ता, तनाव र डिप्रेसनको नकारात्मक प्रभावलाई कम गरिदिन्छ। यही कुरालाई मध्यनजर गरेर पनि यो ‘धुन माधुरी’ निर्माण गरिएको हो।’
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तामाङले राष्ट्र सेवा र लेखनलाई एकसाथ अगाडि बढाइरहेका छन्।
‘पेसाले कठोर क्षेत्रमा हुनुहुन्छ, कार्य सम्पादन गर्दा कहिलेकाहीँ भावना हावी भएर अप्ठ्यारो त पर्दैन?’
नेपालखबरको जिज्ञासामा उनले भने, ‘पेसामा पनि सेवाभावको कोमलता त हुन्छ नै, कठोरतालाई गीत वा साहित्यमा वीर रसका रूपमा प्रयोग गर्न सकिन्छ, भावना हावी हुन नदिन विवेक र व्यावसायिकताको प्रयोग गर्न सकिन्छ।’
साथीभाइ विशेषगरी संगीतकार किशोर खतिवडाको प्रेरणा र आफ्नै रुचिका कारण साहित्य सेवा र जागरणका निम्ति कलम चलाउने गरेको बताउने एसएसपी तामाङले हालसम्म स्वदेश, जीवनसाथी, आमा र नाता गरी चार गीति संग्रहसहित सयभन्दा बढी गीत सार्वजनिक गरिसकेका छन्।
उनका गीतले इमेज अवार्ड र सगरमाथा म्युजिक अवार्डसमेत जितेका छन्। पुस्तकतर्फ तामाङका माटोको आवाज, नेपाल आमा र भक्ति सागर प्रकाशित छन्।
सुन्नुहोस् ‘धुन माधुरी’–
प्रतिक्रिया