ग्र्यामी अवार्ड विजेता गायिका बिली आइलिसले आफू ११ वर्षकै उमेरदेखि अश्लील (पोर्न) सामग्री हेर्ने लतमा पर्दा आफ्नो बुद्धि बिग्रिएको खुलासा गरेकी छन्।
बीबीसीका अनुसार सिरिअसएक्सएम रेडिओलाई अन्तर्वार्ता दिने क्रममा १९ वर्षीया गायिका आइलिसले सानै उमेरमा अश्लील सामग्री हेर्न पुग्दा आफ्नो जीवन कसरी ‘ध्वस्त’ भएको थियो भन्ने अनुभव सुनाएकी हुन्।
‘यो नराम्रो कुरा हो भन्ने मैले बुझिनँ‘ मलाई लाग्यो– यो यौन सम्पर्कबारे सिक्ने कुरा हो’, उनले भनेकी छन्।
गीतकारसमेत रहेकी गायिका आइलिसले किशोरावस्थामा त्यस्तो सामग्री हेरेकै कारण यौन सम्पर्क राख्न थालेदेखि नराम्रा कुरालाई पनि नाइँ भन्न नसकेको बताएकी छन्।
उनको एल्बम ‘ह्यापिअर द्यान एभर’को ‘मेल फ्यान्टसी’ बोलको गीतबारे सोधिएको प्रश्नको उत्तर दिँदा अश्लील सामग्रीको कुरा आएको थियो।
अन्तर्वार्ताकार हावर्ड स्टर्नसँग उनले आफूले सानैदेखि पोर्न सामग्री हेरेको र त्यसले आफ्नो जीवनमा नराम्रो असर पारेको बताएकी हुन्।
युनिसेफजस्ता बालकल्याणका क्षेत्रमा काम गर्ने विज्ञ कलिलो उमेरमा अश्लील सामग्री हानिकारक हुने बताउँछन्।
दुर्व्यवहार र अन्य असामान्य यौन क्रियाकलाप देखाइएका अश्लील सामग्रीले बालबालिकामा त्यस्ता कुरा सामान्य हो भन्ने भान पार्नुका साथै उनीहरूको मानसिक स्वास्थ्य कमजोर पार्ने विज्ञहरूको भनाइ छ।
Shares

प्रतिक्रिया