निर्देशक दिवाकर भट्टराईले नयाँ चलचित्रको घोषणा गरेका छन्। चलचित्र ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरेका भट्टराईले नयाँ चलचित्र ‘हनी बनी’ बनाउने भएका हुन्।
उनले सामाजिक सञ्जाल मार्फत ‘हनी बनी’को औपचारिक घोषणा गरेका छन्। उनले लभस्टोरी चलचित्र निर्देशन गर्न लागेको बताएका छन्।
चलचित्र निर्माणका लागि ६ करोड लगानी लाग्ने भट्टराईले बताएका छन्। उनले यो चलचित्रमा स्टार अनुहार भन्दा पनि अभिनय प्रमुख पात्र समावेश गर्ने बताएका छन्।
दिवाकरले चलचित्र निर्माणमा एबी इन्टरनेशनलसँग सहकार्य गर्नेछन्। लण्डनमा बस्ने दुई युवाको कथालाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको चलचित्रका लागि पावरफुल कलाकारको खोजी कार्य सुरु गरेको दिवाकरको भनाई छ। चलचित्रको छायांकन बेलायतमा हुनेछ।
यसअघि दिवाकर ले ‘तिमीसँगै हुने मन छ’ नामक चलचित्र निर्माणको घोषणा गरेका थिए। घोषणाको लामो समय बितिसक्दा पनि यो चलचित्र निर्माण कार्य भने सुरु हुन सकेको छैन।
त्यसैले पनि अर्को चलचित्र निर्माणको घोषणा गरेका उनीमाथि ‘यो पनि घोषणा मात्रै त होइन?’ भन्ने प्रश्न उठेको छ। उनले भने दुवै चलचित्रको मिलाएर छायांकन गर्ने बताएका छन्।
Shares

प्रतिक्रिया