ad ad

कला


मनोज गजुरेलको कोरोना अनुभव: अनि लाग्यो, मेरो दिन यत्ति नै रहेछ

मनोज गजुरेलको कोरोना अनुभव: अनि लाग्यो, मेरो दिन यत्ति नै रहेछ

कलाकार मनोज गजुरेल। तस्वीर: विक्रम राई/नेपालखबर


यज्ञराज जोशी
माघ १, २०७८ शनिबार १६:५२, काठमाडौँ

हास्य कलाकार मनोज गजुरेललाई लाग्थ्यो– मलाई किन कोरोना लाग्छ र? 

हट्टाकट्टा उनमा त्यतिबेला त्यस्तो आत्मविश्वास र आँट (दुस्साहस) थियो। 

त्यसैकारण उनले पीपीई लगाएका डाक्टरसमेत कोरोना संक्रमितका नजिक पर्न डराएका बेला लक्षण भएका दाजुलाई बोकेरै अस्पताल पुर्याए। परिणाम– दाजुसँगै उनी पनि कोरोना पोजिटिभ देखिए। 

घरमै आइसोलेसनमा बसे। एकदिन ज्वरो आयो। औषधि खाएर निको भयो। अर्को दिन रुघा लाग्यो। बाफ लिएपछि निको भयो। अर्को दिन जीउ कटकटी खायो। व्यायामपछि हल्का महसुस गरे। चौथो दिन ढाड बेस्सरी दुख्न थाल्यो। मेसिनद्वारा मसाज गरे। दुखाइ त कम भयो, तर सास फेर्न कठिन भयो। त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको एम्बुलेन्स उनको गेटअघि आएर उभियो। 

‘त्यो साइरनको आवाजसहित एम्बुलेन्समा शववाहनमा जस्तै पछाडि एक्लै बसेर जानु, अस्पतालमा डाक्टरहरू परपर बस्नु, पीपीई लगाएका मान्छेहरू मात्रै चेकअपमा आउनु, एक खालको त्रासदी मात्रै थियो’, गजुरेल सम्झन्छन्, ‘कोरोनाका लक्षण देखिएका दाइलाई बोकेर अस्पताल पुर्याएको थिएँ। त्यो दुस्सहास मैले गर्नु हुँदैनथ्यो। त्यसको दुष्परिणाम भोग्दै थिएँ।’

 

एक्सरेमा फोक्सो र छालाबीच हावा भरिएको थियो। त्यसले फोक्सो खुम्चिने र फुल्ने क्रममा अवरोध पुर्याउँदा सास फेर्न अप्ठेरो पारेको रहेछ। उनलाई तुरुन्तै आईसीयू कक्षमा सारियो। डाक्टरले काखीमुनि प्वाल पारे। लामो पाइप फोक्सोसम्म पुर्याए। ४–५ दिन अर्धचेत अवस्थामा राखेर पाइपमार्फत हावा निकाले।  

सुरुका एकदुई दिन उनलाई निकै डर लाग्यो। त्यसमाथि आईसीयूमा छेउमै रहेकी एक वृद्ध आमाले हेर्दाहेर्दै प्राण त्यागिन्। 

‘सेतो कपडा लगाएर मुख थुनेका मान्छेहरूले कालो प्लास्टिकमा बेरेर ठूलो ट्रकमा ल्याएका शव गहिरो खाल्डोमा हालेको दृश्यका थुप्रै भिडिओमा देखेको थिएँ’, उनले भने, ‘एक दिन त लु भाइ तेरो पनि दिन यत्ति नै रहेछ भन्ने पनि लाग्यो।’

तर सशस्त्र प्रहरी अस्पतालका डाक्टरले उनको हौसला टुट्न दिएनन्। उनलाई भनिरहे, ‘नआत्तिनुस्, निको हुन्छ।’

‘अस्पतालमा स्वास्थ्यकर्मीले गर्ने व्यवहारले बिरामीलाई चाँडै ठीक हुन मद्दत गर्दोरहेछ’, उनले सुनाए, ‘सरकारले अस्पताल, शिक्षा, स्वास्थ्यजस्ता कुरा प्राथमिकतामा राख्नुपर्छ। डाक्टर, नर्स, शिक्षकलाई उत्प्रेरित गराउने कला पनि सिकायो भने बिरामी अलिकति हौसला प्राप्त गर्छ।’

सातौं दिन उनी तंग्रिए। आफैं बेडबाट उठेर ट्वाइलेटसम्म गए। त्यस दिन उनलाई लाग्यो– अब बाँच्छु। 

बिस्तारै तंग्रिदै गएर गजुरेल ११ दिनको अस्पताल बसाइपछि घर फर्किए। शुभचिन्तक र साथीभाइलाई सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्था जानकारी गराए। 

पूरै सञ्चो हुन ६–७ महिनै लाग्यो। डाक्टरले सिफारिस गरेका औषधि खाइरहे। एकचोटि चेतेका उनी खाने, हिँड्ने र सार्वजनिक ठाउँमा जाने कुरामा एकदमै ध्यान पुर्याउन थाले। अरूलाई पनि हेलचक्र्याइँ नगर्न सल्लाह दिन थाले। 

‘कोरोना भनेको नलागुन्जेल केही पनि होइन, लागेपछि यो भन्दा खतरनाक केही छैन’, उनी भन्छन्, ‘अहिले अरूलाई संक्रमण हुँदा मलाई ट्रिगर गर्छ। उसलाई पनि मजस्तै पीडा सहनुपरेको होला भन्ने लाग्छ।’ 

‘तर पनि मान्छेको प्रवृत्ति न हो। ठीक हुँदै गएपछि पुराना चिजहरू बिर्सिंदै गइँदोरहेछ’, उनी थप्छन्, ‘फेरि उत्पादनमा लागिरहनुपर्ने बाध्यता पनि छ। चोकतिर केटा हो, चोकतिर भनेर टुरिस्ट भएर, डोजरकाण्ड भनेजसरी बाहिर जानुभएन।

सुरक्षाका मापदण्ड अपनाएर आवश्यक मान्छेहरू मात्रै जाँदा धेरै हदसम्म आफू र अरूलाई जोगाउन सकिन्छ।’

अध्यात्ममा समेत रुचि भएका गजुरेललाई जीवन र मृत्युको बोध छ। तर पनि मृत्युको मुखमा पुग्नै लागेकाे महसुस हुँदा उनलाई डर नलागेको होइन। जन्म-मृत्यु प्रकृतिको नियम भएकाले त्यसलाई बुझेर अघि बढ्नुपर्ने उनी बताउँछन्। 

‘मान्छे जन्मन्छ, मर्छ त्यो प्रकृतिको नियम हो। मेरो पनि मृत्यु हुनुपर्छ भन्ने सम्झिरहनुपर्छ’, उनी भन्छन्, ‘जन्म–मृत्युबीचको समयलाई सत्कर्ममा लगाउनुपर्छ। जीवनको तत्कालीन आवश्यकता दालभात तरकारी, जागिर, छोराछोरी, राम्रो पढाइ होला। तर मृत्युपछाडि पनि मान्छेहरूले सकरात्मक रूपमा सम्झियोस् भनेर हाम्रो जीवनशैली, कर्म, सम्बन्ध सुधार गर्नेमा लाग्नुपर्छ।व्यावहारिक हुनुपर्छ। लोभ, मोह, दम्भ, अहंकार छाड्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .