कोरोना महामारीका कारण दुई वर्षदेखि फिल्म रिलिज हुन सकेका छैनन्।
कोरोना महामारी सुरु हुनु अगावै निर्माण भएर प्रदर्शनको तयारीमा रहेका चलचित्र अझै प्रदर्शनमा आउन सकेका छैनन्।
कोरोना महामारीको तेस्रो लहरसम्म आइपुग्दा समय समयमा आंशिक तथा पूर्ण रुपमा हल सञ्चालनमा आए। हल खुले पनि कहिले नेपाली निर्माताले फिल्म रिलिजको आँट गर्न सकेनन्। कहिले हल सञ्चालकको प्राथमिकतामा नेपाली फिल्म पर्न सकेनन्।
नेपाली हलमै ‘सूर्यवंशी’ ‘पुष्पा’ लगायतका चलचित्रले राम्रो दर्शक तान्यो । तर नेपाली फिल्मले पोस्टरको खर्च समेत उठाउन सकेनन्।
कोरोनाको तेस्रो लहर सुरु हुनुअघि प्रदर्शनमा आएका ‘कठपुतली’, ‘चपली हाइट ३’ ले दर्शक तान्ने संकेत देखाएका थिए। पटकपटक प्रदर्शन मिति सार्दै प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट ३’ले राम्रो समीक्षा पाइरहेकै बेला हल बन्द भए। त्यसपछि यो फिल्म पुनः अलपत्र पर्यो।
अब कोरोना महामारीको तेस्रो लहरको असर पनि कम हुँदै गएको छ। हल सञ्चालनका लागि अनुमति पाइसकेका छन्।
प्रदर्शनका लागि तयार भएर बसेका चलचित्र सूची लामो भइसकेको छ। कोरोनाको तेस्रो लहरअघि प्रदर्शन मिति तय गरेका फिल्मको सूची पनि लामै छ। अब यी फिल्म कसरी र कहिले रिलिज गर्ने भन्ने अन्योलमा निर्माता निर्देशक छन्।
कोरोना महामारी फैलिनुअघि नै प्रदर्शनका लागि तयार भएका चलचित्रका कथाले दर्शकलाई नछुने धेरैले आकलन गर्दै आएका छन्।
महामारी, यो समय मान्छेले भोगेका दुःख र लामो समयका कारण दर्शकको टेस्ट फेरिन सक्ने निर्माता निर्देशक आफैं बताउँदै आएका छन्। कोरोना महामारीकै समयमा पनि थुप्रै चलचित्र निर्माण भएका छन्। जसले गर्दा नेपाली सिनेमा घर सञ्चालनमा हलिउड र बलिउडकै साहारा लिनुपर्ने देखिन्छ।
फागुनबाट सञ्चालनमा आउने हलमा चैतसम्ममा थोरै फिल्म मात्रै प्रदर्शनमा जाने भएका छन्। बाँकी फिल्मले नयाँ वर्ष पर्खिएर बसेका छन्। एकैपटक धेरै फिल्म हलमा लाग्ने सम्भावना पनि देखिएको छ। जसले गर्दा सम्भावना बोकेका फिल्मको पनि लगानी जोखिममा देखिएको छ।
प्रदर्शनका लागि ‘कबड्डी ४’, ‘कृष्णलीला’, ‘ए मेरो हजुर ४’, ‘म यस्तो गीत गाउछु २’, ‘लप्पन छप्पन २’ लगायत ५ दर्जन भन्दा धेरै चलचित्र पालो पर्खिएर बसेका छन्।
रिलिजका लागि पाँच दर्जनभन्दा बढी चलचित्र पालो पर्खेर बसेका छन् । जसमा ‘कबड्डी ४, कृष्णलीला, दोख, प्रेमगीत ३, आईएम २१, बोक्सीको घर, लक्का जवान, प्रकाश, मन्त्र, लप्पनछप्पन २, म यस्तो गीत गाउँछु २, ए मेरो हजुर ४, हिंड्दा हिंड्दै, डिसेम्बर फल्स’ छन् । केहि चलचित्र निर्माणको अन्तिम चरणमा छन्।
केही चलचित्र निर्माण घोषणा भएर छायांकनमा जाने तयारीमा छन्। यी सबै चलचित्रको सूची हेर्दा आगामी वर्ष नेपाली फिल्म एकआपसमा जुध्नुपर्ने बाध्यता देखिएको छ।
कोरोना महामारीका कारण नेपाली फिल्म निर्माताको १ अर्ब ७५ करोड रुपैयाँ लगानी फसेर बसेको निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन्। ८२ वटा नेपाली फिल्ममा गरेको लगानी फसेको अधिकारीको भनाइ छ।
जसमध्ये प्रदर्शनका लागि ३५ फिल्म तयार भएर बसेका छन्। २२ फिल्म पोस्ड प्रडक्सनमा छन् भने २५ फिल्म छायांकनको क्रममा रोकिएका छन्।
निर्माता संघ मार्फत निर्माताको राहतका लागि सरकारसँग विभिन्न माग गरिरहेका आकाश भन्छन्, ‘सरकारले मौद्रिक नीतिमा केही विषय सम्बोधन गरेको भए पनि त्यो निर्मातालाई लागि अपुग छ। यसका लागि नेपाल सरकारले प्रोजेक्ट लोन र प्रोजेक्ट इन्स्योरेन्सको व्यवस्था गरिनु पर्छ ।’ योसँगै कर छुटको व्यवस्था गरे निर्मातालाई राहत हुने उनको तर्क छ ।
Shares

प्रतिक्रिया