कला


आफ्नो गीत रचनाले गाएपछि दुख्यो अन्जुको मन, यसरी पोखिन् गुनासो

आफ्नो गीत रचनाले गाएपछि दुख्यो अन्जुको मन, यसरी पोखिन् गुनासो

नेपालखबर
माघ २६, २०७८ बुधबार ११:३४, काठमाडौँ

नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो– अन्जु पन्त। दशक अघि ‘नबिर्सेँ तिमीलाई न पाए तिमीलाई’ बोलको गजल गाएपछि अन्जुले आफ्नो करिअरमा पछाडी फर्किएर हेर्नु परेन।

विपिन किरणको शब्द तथा महेश खड्काको संगीत रहेको यो जगल अन्जुको जीवनको कोशेढुङ्गा साबित भयो।

अन्जुले त्यसपछि थुप्रै मेला महोत्सवमा यही गजल गाएर माहोल बनाइन्। तर गायिका पन्त र गीतकार विपिन किरणको सम्बन्ध भने राम्रो हुन सकेन। एक समय यी दुई बिच बोलचालसमेत भएन। विपिन अन्जुको नाम लिन हिच्किचाउँथे। अन्जु पनि कार्यक्रममा विपिनको नाम लिँदैनथिन्। 

पछिल्लो समय अन्जु र विपिनको सम्बन्ध सुधारिएको थियो। विपिनले उक्त गजल नयाँ एरेन्जेमेन्टमा अन्जुकै स्वरमा पुनः रेकर्ड गराउने तयारी गरेका थिए। विपिनले अन्जुसँग पनि सल्लाह गरेको थिए। हाल अमेरिकामा रहेकी अन्जु समय मिलाएर गजलको पुनः रेकर्डको तयारीमा थिइन्। 

तर, यता विपिनले यो गजल पछिल्लो समयकी गायिका रचना रिमालको स्वरमा रेकर्ड गराए। भिडियोमा अन्जु र पुरुष आवाज दिएका जगदीश समालको नाम उल्लेख नगरी सार्वजनिक गरे। गजल रेकर्ड लगत्तै थुप्रैले विभिन्न प्रतिक्रिया दिए। धेरैले विपिन र रचनालाई गाली गरे। केही दिन अन्जु भने मौन देखिइन्। 

अन्ततः अन्जु चित्त दुखाउँदै सामाजिक सञ्जालमा पोखिएकी छिन्। उनले आफ्नो नाम समावेश नगरेकोमा मन दुखेको बताएकी छिन्।

उनले फेसबुकमा लेखेकी छिन्, ‘भर्खरै पुनः रेकर्ड भएर युट्युबमा सार्वजानिक भएको ‘न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई’ गजलको नयाँ भर्सन आएको खबर थाहा पाएँ। यसपछि धेरै संगीतकर्मी, सञ्चारकर्मी तथा मलाई माया गर्ने शुभचिन्तकले जिज्ञासा र चिन्ता व्यक्त गर्नुभएको पाएँ।  हाल म काम विशेषले विदेशमा भएको कारणले तुरुन्तै प्रतिक्रिया जनाउन सकिनँ यसप्रति क्षमाप्रार्थी छु।’ 

उनले अगाडि लेखेकी छिन्, ‘यो गजल सर्जक विपिन किरणको शब्द, संगीतकार महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गर्नुभएको थियो भने यो गजलमा मैले आवाज दिएकी थिएँ। नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मन मुटुमा बस्न सफल यो गजल पछि मेल आवाजमा गायक जगदिश समालले पनि गाउनुभयो। आजसम्म पनि उत्तिकै लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन। केही समयअघि विपिन किरण भाइले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ। यसैक्रममा उहाँले कभरको रुपमा किड्स भर्सन नयाँ भाइ बहिनीलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुशीसाथ हुन्छ भनेकी थिएँ।’ 

उनको गीत नयाँ भर्सनमा गाउने रचनाको समर्थन गर्दै पन्त लेख्छिन्, ‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ। मेरी छोरी समान कि रचना नानुलगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ।’

स्टाटसको अन्त्यमा मन दुखाउँदै अन्जु लेख्छिन् ‘उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुःखद र अन्यायपूर्ण कुरा हो। के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन। म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ। आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ। भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad