कला


प्रचण्डले राजेशपायललाई ‘तपाईँ हामीसँगै हुनुहुन्छ भनेर बुझेको छु’ भन्दै बिदा गरे

१५ मिनेटको कुरामा उठाए खुवालुङको पनि प्रसंग
प्रचण्डले राजेशपायललाई ‘तपाईँ हामीसँगै हुनुहुन्छ भनेर बुझेको छु’ भन्दै बिदा गरे

खुमलटारमा प्रचण्डलाई भेट्दै गायक राजेशपायल राई


नेपालखबर
फागुन ५, २०७८ बिहिबार २१:४४, काठमाडौँ

खोटाङ पुर्ख्यौली थलो भएका गायक राजेश पायल राईले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटार पुगेर भेटे। 

अन्य केही कलाकारसहित प्रचण्डलाई भेट्न खुमलटार पुगेपछि उनी माओवादी केन्द्रमा प्रवेश गर्न लागेका त होइनन् भन्ने चर्चा सुरु भएको छ। धेरैले उनलाई अहिले यही प्रश्न सोधिरहेका छन्। 

तर,आफू कुनै पार्टीमा प्रवेश गर्ने सोचमा नरहेको राईले बताएका छन्। उनी त प्रचण्डको निम्तो मान्न खुमलटार पुगेका रहेछन्। 

केही समयअघि एक अन्तर्वार्ताका क्रममा आफ्नो प्रशंसा गरेका राईलाई तत्काल भेट्न प्रचण्डको खबर पठाएका थिए। राईले काममा व्यस्त भएकाले तत्कालै प्रचण्डको निम्तो मान्न पाएका थिएनन्। 

तर बिहीबार भएको भेटको सुरुवातमै प्रचण्डले राजेशपायलको प्रशंसा गरे। प्रचण्डले राजेशपायलका गीत सुनेको बताउँदै उनको अन्तर्वार्ता पनि हरेको सुनाए। 

आफ्नो बारेमा बोलेको भिडिओ पनि छोरीमार्फत प्राप्त गरेर हेरेको प्रचण्डले सुनाएका थिए। प्रचण्डले राजेशपायलको प्रशंसा गर्दै भने, ‘तपाईँको भ्वाइस गड गिफ्टेड छ।’ 

पहिलो पटक राजेशपायल भेटेका प्रचण्डले आत्मिक रुपमा भने उनीसँग नजिक रहेको बताए। 

उनले विगतका घटनाक्रम बिर्सिएर नेपाली समाजका लागि सँगै लड्नसमेत राजेशपायललाई आग्रह गरे। 

प्रचण्डले राजेशपायलको प्रशंसा गर्दै उनमा पूर्वाग्राही भावना नरहेको उल्लेख गरेका थिए। 

राजेशपायलले पनि भेटमा देश परिवर्तनका लागि भएको संघर्षका क्रममा भएका घटनालाई आफूले स्वीकार गरेको बताए। 

लगत्तै प्रचण्डले भने, ‘तपाईँ निक्कै हाइटबाट सोच्नु हुँदो रहेछ।’ त्यसपछि प्रचण्ड र राई खुलेर हाँसे। 

विभिन्न जातजातिको पहिचानका लागि प्रचण्डले दिएको योगदानको कदर गर्दै राईले आज आफू निर्धक्क साथ बोल्न सक्नुमा पनि उनको योगदान रहेको बताए। 

भेटमा उनले जनजातिको आस्थाको प्रतीक कोशी नदीस्थित खुवालुङको कुरा पनि उठाए। 

उनले पानीजहाजभन्दा आफ्नो आस्था माथि रहेको बताउँदा प्रचण्डले ठीक हो भनेर समर्थन जनाए।  

राईले माओवादीकै कारण बुवा देशबाट विस्थापित भएको कुरा सुनाउँदा प्रचण्ड गम्भीर देखिएका थिए।  

संगीतको कुरा गर्दागर्दै प्रचण्डले राजेशपायललाई राजनीतिक रुपमा पनि तपाईँ जिम्मेवार मान्छे हो भनेर प्रशंसा गरेका थिए। 

प्रचण्डले गायकका रुपमा जस्तै राजनीतिक रुपमा पनि आफूलाई स्थापित गर्न घुमाउरो सुझाव दिए। 

जवाफमा राईले धन्यवाद दिए। झण्डै १५ मिनेट प्रचण्डसँग कुराकानी गरेका उनले नेपाली गीत संगीतमा विकृति पनि छ भनेर सुनाए। 

गीत संगीतमा आफ्नै देशको माटोको कथा आउनुपर्ने राजेशपायलले बताए। जातीय पहिचानबारे पनि प्रचण्डसँग कुरा गरे। 

२०६२ सालमा माओवादीले राजेशपायलको खोटाङको बुइँपास्थित घर जलाइदिएको थियो। 

त्यसपछि राजनीतिक पृष्ठभूमिका उनका बुवा रत्न राई देशबाटै विस्थापित भएका थिए। 

भेटका क्रममा राईले ठट्यौली पारामा त्यो पुरानो प्रसंग पनि कोट्याए। 

राजेशपायलले प्रचण्डलाई प्रश्न गरे, ‘तपाईंहरुले मेरो घर किन जलाउनु भएको?,’ प्रचण्डले जवाफ दिए, ‘ठूलो राजनीतिक क्रान्तिका क्रममा छिटपुट घटना भएका छन्। त्यसका लागि माफी चाहान्छु।’

राईले त्यसपछि राष्ट्रको हकहितका भए आफ्नो सम्पूर्ण सम्पति जलाउन तयार रहेको समेत बताए। 

प्रचण्डले अन्तिममा राष्ट्रमा परिवर्तनका लागि यति बोलिदिएरै तपाईँ हामीसँगै हुनुहुन्छ भनेर बुझेको छु भन्दै बिदा दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad