कला


गीति संग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण, प्रचण्डद्वारा लेखकको प्रशंसा

गीति संग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण, प्रचण्डद्वारा लेखकको प्रशंसा

नेपालखबर
फागुन ११, २०७८ बुधबार १३:३५, काठमाडौँ

डा. गोपाल ठाकुरले भोजपुरी भाषामा लेखेको ‘जनता के गीत गावत रहेम’ गीति संग्रहको लोकार्पण गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गीति संग्रहको लोकार्पण गरेका हुन्।

त्यस क्रममा अध्यक्ष प्रचण्डले गीति संग्रहमा श्रमजीवी वर्ग र उनीहरूका विचारलाई केन्द्रित गरेर लेखिएका गीत समावेश गरिएको आफूले पाएको बताए। पार्टी र संगठनको जिम्मेवारी इमान्दारिपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाका माध्यामबाट जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको पनि उनले बताए।

ठाकुर वर्गीय र वैचारिक रूपले श्रमजीवी वर्गप्रति समर्पित लेखक भएको चर्चा गर्दै प्रचण्डले बहुआयामिक प्रतिभाको धनी भए पनि क्षमताअनुसार उनलाई सबैले आत्मसात् नगरेका हुन् कि भन्ने आफूलाई लागेको धारणा राखे। 

‘उहाँ पिछडिएको भनिने समुदायबाट आउनुभएको छ, सोही वर्गको प्रतिनिधित्व गर्दै रचना सिर्जना गर्नुहुन्छ’, प्रचण्डले भने, ‘सायद यहीँ कारणले पनि मानिसहरूले उहाँको बहुआयामिक क्षमताको जति आत्मसात् गर्नुपर्थ्यो, त्यति आत्मसात् गर्न नसकेको जस्तो मलाई लाग्छ।’​

भोजपुरी भाषा ‘जनता के गीत गावत रहेम’को नेपाली अर्थ म जनताको गीत गाइरहनेछु भन्ने रहेको लेखक डा. गोपाल ठाकुरले बताए। 

पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीत समावेश छन्। अधिकतर गीत लोक लयमा आधारित र केही गीत  आफूले संगीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको ठाकुरले जानकारी दिए। 

वैचारिक रूपले प्रगतिवादी धारमा केन्द्रित गीत लेखिएको भन्दै ठाकुरले पछिल्लो समय भोजपुरी भाषामा देखिएका विकृति र अति कम गर्न आफूले प्रगतिवादी गीत–संगीत सिर्जनामा विशेष जोड दिइरहेको बताए। 

‘भोजपुरीलाई केहीले अति व्यावसायिकताका नाममा अश्लीलता फैलाउने काम गरिरहेका छन् भने अर्को अतिवाद रूपमा अध्यात्मको नाममा अर्कै माहोल खडा गरिएको छ’, ठाकुरले भने,  ‘यी दुवैबाट अतिबाट भोजपुरी कला–संस्कृतिलाई बचाउँदै व्यवहारिक र सांसारिक जीवन व्यवहारमा आधारित गीत संगीतहरू सिर्जना गरिनुपर्दछ भनेर मैले अभियान नै सञ्चालन गरिरहेको छु।’ 

यही अभियानमा आधारित गीत नै आफ्नो गीति संग्रह भोजपुरी जनगीत मालामा राखिएको ठाकुरको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad