कला


मुनामदन बाटिकामा प्रेम र प्रकृति कुँद्दै कलाकार (तस्बिरहरु)

मुनामदन बाटिकामा प्रेम र प्रकृति कुँद्दै कलाकार (तस्बिरहरु)

सुदीप भण्डारी
फागुन १५, २०७८ आइतबार ६:५५, काठमाडौँ

बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। 

फूलबारी पार्क परिसरकै एक छेउमा कलाकारहरुले ढुंगामा विभिन्न आकृतीहरु कुँदिरहेका छन्। फागुन १ गतेदेखि यहाँ मुर्तिकला कार्यशाला चलिरहेको छ। 

काठमाडौको ललितकला क्याम्पस र भारतको बनासरमा पढेका अगम श्रेष्ठले एउटा ठूलो ढुंगामा केही आकृती दिएका छन्। अनि त्यसमा तार जोडेर माथि चार वटा स–साना ढुंगा राखेका छन्। 

‘सेतुका ढुंगाहरु’ भन्ने मेरो शिर्षक छ । पुराना कथाहरुमा रामनाम लेखेर फाल्दा पानीमा तैरिने खालको ढुंगा भएको उल्लेख छ,’ उनले भने, ‘मेरो कलामा त्यही झल्काउन खोजेको छु । अध्यात्मले कठोर चिजलाई पनि हलुका बनाउन सक्छ भन्ने सन्देश दिन खोजिएकाले पानीको आकृती छ । त्यसमाथि रामनाम लेखेको ढुंगा छ।’
 
इलामका विशाल सारु मगर मुर्तिकलामा लागेको एक दशक भयो । मुर्ति बनाउने काम उनको केही व्यवसाय र धेरै रुचिको विषय हो । विशाल ढुंगामा नागको प्रतिक बनाउँदै छन्। ‘मैले यहाँ दुई वटा नाग कोर्दै छु । बाहिर निस्कीरहेको भित्र गइरहेको नागहरु देखाउन खोजेको छु,’ उनले भने। 

मुर्ति कार्यशालामा धेरै कलाकार बाहिरी जिल्लाका छन् । हरिबहादुर थापा बयम्बु मात्र बुटवलका हुन् । उनले आफ्नो तयार हुँदै गरेको मुर्तिलाई पुरुष र प्रकृती नाम दिएका छन्। 

‘शरिर एउटै छ, त्यसमा नारी र पुरुष दुबै देखाउन खोजेको छु,’ उनले भने, ‘नारीका हातबाट लहराहरु आएका छन् । प्रेमको प्रतिक देखाउन खोजेको हो।’ 

गुल्मीका कुमार थापा पनि काठमाडौंको ललीतकला क्याम्पसका विद्यार्थी हुन् । उनले एउटा मुर्ति तयार पारिसकेका छन् । तर, उनी आफूले बनाएका मुर्ति देखाउँदैनन्। ‘त्यसको परिकल्पना गर्ने जिम्मा अवलोकनकर्तालाई छोडेको छु,’ थापाले भने। 

थापाले बनाएको दोस्रो सिर्जना भने मुनामदन कथासँग सम्बन्धित छ। ‘यो धनको थैलो हो । मदनले ल्हाशा पुगेर धनको थैलो ल्याएका थिए नि, त्यही देखाउन खोजेको हो,’ उनले भने। 

अहिले मुर्ति कार्यशाला भइरहेको ठाउँलाई मुनामदन बाटिका नाम दिइएको छ। जहाँ तयार हुँदै गरेका धेरै मुर्तिहरु प्रेम र प्रकृतीसँग सम्बन्धित छन्। 

फूलबारीको पर्यटकीय विकासमा थप मद्दत पुगोस भनेर मुर्तिकला कार्यशाला आयोजना गरिएको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुइटेलले बताए। 

‘यो ठाउँ ढुंगैढुंगा भएको रक गार्डेनको रुपमा चिनिन्छ। यी ढुंगालाई पनि कुँदेर प्रेम प्रतिक देखाएर मुनामदन बाटिकाको रुपमा विकास गर्न लागेका हौं,’ लुइँटेलले भने ‘यो ठाउँलाई सौन्दर्यकरण गरेर फूलबारी पार्कलाई थप प्रवद्र्धन र विकास गर्नु जरुरी छ।’ 

मुर्तिकला कार्यशालाको लागि १४ लाख खर्च हुने अनुमान गरिएको लुइटेलले बताए। कार्यशालामा १७ जनाजति कलाकारले मुर्ति बनाइरहेका छन् । उनीहरु सोही ठाउँमा क्याम्प बनाएर बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad