कला


अमेरिकी कलाकारले नेपालमा चलचित्र छायांकन गर्ने

अमेरिकी कलाकारले नेपालमा चलचित्र छायांकन गर्ने

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत १६, २०७८ बुधबार ५:९, काठमाडौँ

नेपालको पर्यटन प्रवर्द्धनका साथै कला, संस्कृतिको प्रचार होस् भन्ने उद्देश्यले अमेरिकी राष्ट्रिय कलाकारको संस्था प्लेङ फर चेन्ज फाउन्डेसनमा आबद्ध कलाकारले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा चलचित्र छायाङ्कन गर्ने भएका छन्।

फाउन्डेसनका निर्देशक ज्याक थोमससहितको टोलीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर सो कुराको जानकारी गराएका हुन्। आगामी वैशाखदेखि नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर चलचित्र छायाङ्कन गर्ने जानकारी मन्त्री आलेलाई दिइएको हो। नेपालको सुरसुधा ग्रुपसँग सहकार्य गरी उक्त फाउन्डेसनले चलचित्र निर्माण गर्ने भएको जानकारी पनि सो अवसरमा दिइएको थियो।

यसैगरी उक्त फाउन्डेसनले नेपालमा सङ्गीत विद्यालय स्थापना गर्ने योजना बनाएको पनि सो फाउन्डेसनका व्यवस्थापक ईश्वर बज्राचार्यले बताए। उनले सो फाउन्डेसनले नेपालका पर्यटकीय क्षेत्रको भ्रमण गरी तिनमा छायाङ्कन गरिएका चलचित्र निर्माण गर्नुका साथै सङ्गीत विद्यालय निर्माण गर्ने योजना बनाएको बताए। 

यसअघि उक्त फाउन्डेसनले नेपालका काठमाडौँ, ललितपुर, उदयपुरको गाईघाट, कटारी, तिनतलेगाउँमा सङ्गीत विद्यालय स्थापना गरिसकेको छ। ती विद्यालयबाट निःशुल्क रुपमा सङ्गीत सिकाउन थालिएको सुरसुधा ग्रुपका तबला-वादक सुरेन्द्र श्रेष्ठले जानकारी दिए। 

मन्त्री आलेले अमेरिकी कलाकारले यहाँ चलचित्र निर्माण गर्ने र सङ्गीत विद्यालय खोल्ने योजना आफूहरूका लागि स्वागतयोग्य रहेको र यसले नेपालको पर्यटन प्रवर्द्धन तथा यहाँको कला, संस्कृतिको जगेर्नाका लागि सहयोग पुग्ने मन्त्री आलेले बताए।

उनले भने, ‘हाम्रो कला, संस्कृतिको जगेर्ना तथा यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि निर्माण हुने कुरा हामी सबैका लागि स्वागतयोग्य छ, उक्त कार्यमा के सहयोग गर्न सकिन्छ, हामी सहयोग गर्न तयार छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad