कला


पर्यटनमन्त्री आलेले गरे नायिका पूजा शर्माको प्रशंसा

पर्यटनमन्त्री आलेले गरे नायिका पूजा शर्माको प्रशंसा

सोमबार नायिका पूजा शर्मालाई अवार्ड दिँदै पर्यटनमन्त्री आले। तस्बिर : रासस


नेपालखबर
चैत २९, २०७८ मंगलबार ४:५०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनमा कलाकारहरुको अहम भूमिका रहेको बताएका छन्। 

बक्स अफिस इन्टरनेसनल ग्रुपले सोमबार आयोजना गरेको १६औँ ब्लक–बस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा उनले कलाकारहरुले निर्माण गरेका नेपाली फिल्महरुका कारण हाम्रा पर्यटकीय क्षेत्रहरु देश विदेशमा चिनिएको बताए।

उनले भने, ‘नेपाली कलाकारले निर्माण गरेका फिल्मका कारण हाम्रा देशका पर्यटकीय क्षेत्रहरु देश विदेशमा चिनिएका छन्, पर्यटन प्रवर्द्धन तथा कला संस्कृतिको जर्गेनामा कलाकारको अहम भूमिका छ।’ 

कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि थला परेको नेपालको पर्यटन क्षेत्र अब नेपाली कलाकारले आफ्ना फिल्महरु निर्माण गरेर माथि उकास्न तथा प्रचार प्रसार गर्नसमेत मन्त्री आलेले सबै कलाकारमा आग्रह गरे।   

उनले नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने खालका चलचित्र निर्माण गर्नसमेत आग्रह गरे। उनले भने, ‘निर्देशक साथीहरुले अहिलेसम्म निर्माण गरेका फिल्महरु नेपाल र यहाँका पर्यटकीय क्षेत्र चिनाउने खालका छन्, अझै पनि हाम्रा कला संस्कृति चिनाउने फिल्महरु निर्माण गर्नुस्, मैले गर्नसक्ने सहयोग गर्नेछु।’     

नेपालका हिमालमा चलचित्र निर्माणदेखि लिएर यहाँका पर्यटकीय क्षेत्रमा निर्माण गरिने चलचित्रहरुमा राजस्व बढी लाग्ने गरेको भन्ने गुनासोसमेत आएकाले ती क्षेत्रहरु आफ्नै मन्त्रालयअन्तर्गत पर्ने भएकाले राजस्वमा केही कमी गर्न पहल गर्नेसमेत मन्त्री आलेले जानकारी दिए। 

यसैगरी मन्त्री आलेले वरिष्ठ नायक शिव श्रेष्ठ, नायिका पूजा शर्मालगायतका कलाकारले चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिएको र पर्यटन प्रवर्द्धनमा पनि राम्रो काम गरेको भन्दै प्रशंसासमेत गरे। 

उक्त कार्यक्रममा वरिष्ठ नायक शिव श्रेष्ठ, नायिका पूजा शर्मा, गायक पूर्ण सङ्गम जेठारा तथा चलचित्र क्षेत्रमा सहयोग गर्ने भक्तबहादुर आलेलगायतका कलाकार तथा स्रष्टाहरुलाई चलचित्र क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै विभिन्न अवार्डबाट सम्मान गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad