बलिउड अभिनेता सञ्जय दत्तले केजीएफ २ मा सशक्त भूमिका निर्वाह गरेका छन्। उनको अभिनयको निकै तारिफ भइरहेको छ। अभिनयसँगै यतिबेला उनको व्यक्तिगत जीवन पनि चर्चामा छ। उनी आफ्नो जीवनसँग सम्बन्धित कुरा भन्न कहिल्यै हिचकिचाउँदैनन्। भर्खरै, अभिनेता दत्तले आफूलाई क्यान्सर भएकोबारे कुरा गर्दै भने– जब मलाई क्यान्सर भएको पत्ता लाग्यो, तब घन्टौंसम्म रोएँ।
क्यान्सर भएका थाहा पाउँदा निकै डराए
एक अन्तर्वार्तामा सञ्जय दत्तले भनेका छन्, ‘लकडाउनको समय थियो। सिँढी चढ्दा सास फेर्न गाह्रो हुन थाल्यो। नुहाउँदा पनि सास फेर्न समस्या हुन थाल्यो। मलाई के भइरहेको छ थाहा थिएन, त्यसैले मैले मेरो डाक्टरलाई बोलाएँ। यसपछि मैले एक्सरे गराएँ, जसले मेरो फोक्सो आधाभन्दा बढी पानीले भरिएको देखायो। डाक्टरहरूले यो पानी निकाल्नुपर्छ भने र यो टीबी हुन सक्ने ठानेका थिए तर क्यान्सर भइसकेको रहेछ।
दुई–तीन घण्टा रोए
सञ्जय दत्तले अगाडि भनेका छन्, ‘जब मलाई क्यान्सर भएको थाहा भयो, त्यतिखेर मेरी बहिनी आइन्, मैले उनलाई क्यान्सर भएको बताएँ, अब के गर्ने? यसपछि सबैले के गर्न सकिन्छ भन्ने छलफल गरे। तर छोराछोरी, श्रीमती र आफ्नो जीवन सोचेर म दुई/तीन घण्टा धेरै रोएँ। त्यसपछि मलाई लाग्यो– म कमजोर हुन हुँदैन।
राकेश रोशनले सल्लाह दिए
अभिनेता दत्त थप्छन्, ‘त्यसपछि हामीले अमेरिकामा उपचार गर्ने सोचेका थियौं तर भिसा पाएनौं। मैले यहीँ उपचार गराउँछु भनेँ। त्यसपछि राकेश रोशनले मलाई डाक्टरबारे बताए। डाक्टरलाई भेटेँ। डाक्टरले भने– तपाईंलाई बान्ता हुने, कपाल उड्ने र अन्य धेरै कुरा हुन्छ। त्यसमा मैले डाक्टरलाई भनेँ– मेरो कपाल उड्दैन। यो सुनेर डाक्टर हाँस्न थाले।
क्यान्सरसँग डटेर संघर्ष
अभिनेता दत्तले भनेका छन्, ‘म केमोथेरापीका लागि दुबई जान्थें र त्यसपछि ब्याडमिन्टन कोर्टमा गएर दुई–तीन घण्टा खेल्थे। यो पागलपन थियो तर पनि म त्यसो गर्थें।’
क्यान्सरसँग लड्न त्यससँग डराउने होइन, डटेर लड्नुपर्ने उनी बताउँछन्। अहिले उनी पूर्ण रूपमा स्वस्थ भइसकेका छन् र आफ्नो नियमित दिनचर्यामा फर्किएका छन्।
Shares

प्रतिक्रिया