गत शुक्रबार मात्रै आफ्नो १०३ औँ जन्मदिन मनाएका सत्यमोहन जोशीलाई यस वर्षको ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गरिने भएको छ।
साहित्यिक पत्रकार उत्तम कुँवरको सम्झनामा उनकी धर्मपत्नी स्व। शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार हरेक वर्ष आख्यानमुक्त गद्यकृतिलाई प्रदान गरिँदै आएको छ।
यो वर्ष गिरीश गिरिद्वारा लिखित ‘सत्यमोहन’ नामक आत्मकथात्मक कृतिका लागि जोशीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।
उक्त पुस्तकको अन्तर्वस्तु शताब्दीपुरूष सत्यमोहन जोशीको एकशताब्दी लामो जीवनयात्रासँग सम्बद्ध रहेको र यसको सृजनात्मक पुनर्लेखन गिरीश गिरिले गरेको हुनाले कृतिनायक शताब्दीपुरूष सत्यमोहन जोशी र कृतिकार गिरीश गिरि दुवैलाई संयुक्त रुपमा २०७८ सालको ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्न लागिएको गुठीले जनाएको छ।
१ लाख राशीको उक्त पुरस्कार उत्तम कुँवरको जन्म जयन्तीको अवसर पारेर आगामी जेठ १२ गते प्रदान गरिनेछ।
Shares

प्रतिक्रिया