ad ad

कला


लण्डन टु पेरिसको साइकल यात्रामा अभिनेता जोशी

लण्डन टु पेरिसको साइकल यात्रामा अभिनेता जोशी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १५:३, काठमाडौँ

अभिनेता, निर्माता विक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने भएका छन्।

‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले धुलीखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले ६ जना नेपाली साथीहरुका साथ आगामी शुक्रबार अर्थात् २० मेमा ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्न लागेका हुन्। 

साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ छन्। उनीहरुले शुक्रबार लण्डनको लण्डन ब्रिजबाट यात्रा सुरु गरेर लगातार तीन दिन साइकिलिङ गर्दै २२ मेमा पेरिसको इफेल टावर पुग्ने लक्ष्य लिएका छन्।

‘हामीहरुको म्यानुअल साइकल (पाइडल घुमाउँदै) मार्फत लण्डनबाट पेरिस पुग्ने प्लान छ’ अभिनेता जोशी भन्छन्, ‘साइकलमा यति लामो दूरी तय गर्ने प्रयास सायद पहिलोचोटी हुँदैछ।’ 

उनले यो यात्राका लागि तीन साताअघिदेखि मात्रै तयारी गरेका हुन्। उनका साथीहरुले भने यो यात्राबारे चार वर्षअघिदेखि योजना बनाएका रहेछन्। 

‘उहाँहरुले पहिलादेखिनै प्लान बनाएको भए तापनि अहिले आएर बल्ल साकार हुन लागेको छ,’ अभिनेता जोशीले भने, ‘यात्राका लागि म करिब तीन साता यता दैनिक चार पाँच घण्टा साइकल कुदाइ रहेको छु।’ 

लामो समयदेखि नियमीत एक्सरसाइज गर्दै आइ रहेकाले छोटो समयको तयारीेले पनि आफूलाई पूर्ण सफलता दिने विश्वास उनको छ। 

साइकल यात्राका क्रममा लाग्ने सम्पूर्ण खर्च साइकल यात्रीहरु स्वयम्ले नै ब्यहोर्ने टिमको निर्णय छ। लण्डनदेखि पेरिस यात्रामा बीचमा पर्ने समुन्द्रमा भने उनीहरु पानी जहाजमा यात्रा गर्नेछन्। 

उलबीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरुले कम्तीमा ५ हजार पाउन्ड (करिब पौने ८ लाख रु) संकलन गर्ने लक्ष्य लिएको उनले बताए।

उनले यो अभियान सुरु भएदेखि विभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेको बताउँदै जोकोहीले पनि जस्ट गिभिङ डटकम नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने जानकारी दिएका छन्। अनाथ बालबालिकाका लागि विश्वभरबाट माया, साथ, सहयोग र हौसला दिनुहुन उनले सबैलाई अनुरोध गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .