अभिनेता सौगात मल्ल दर्शकले रुचाएका कलाकार हुन्। उनको जीवन्त अभिनयले सधैं तारिफ पाउने गर्छ। तर उनले नै अभिनय गरेका धेरै फिल्म बक्स अफिसमा फ्लप साबित भएका छन्। गत बैशाखकै कुरा गरौं उनी अभिनित चलचित्र ‘मन्त्र’ बक्स अफिसमा सुपर फ्लप भयो।
बैशाख १६ बाट प्रदर्शनमा आएको यो चलचित्र आएको, गएको दर्शकले पत्तो पाएनन्। निर्मातालाई पोस्टरमा गरेको लगानी पनि उठाउन मुस्किल भयो। सौगातको स्टारडम ‘मन्त्र’मा चलेन।
तर उनै सौगात अभिनित चलचित्र ‘कबड्डी ४’ले प्रदर्शन अगावै रेकर्ड बनाइसक्यो। ‘कबड्डी ४’ले बक्स अफिसमा आक्रामक व्यापार गर्ने संकेत देखाइसकेको छ। मल्टिप्लेक्समा पाएको उच्च शो ले चलचित्रले सुनामी ल्याउने संकेत देखाइसकेको छ। ‘कबड्डी’का सबै सिरिजले राम्रो व्यापार गरेको छ। सबै सिरिजमा सौगात छन्।
सौगात चलेको अर्को चलचित्र ‘लुट’ हो। अन्य चलचित्रमा उनी औसत देखिन्छन्।
हलमा नेपाली राम्रा फिल्मको खडेरी भएका बेला लागेर पनि दर्शक तान्न नसकेका सौगात ‘कबड्डी ४’ मार्फत आक्रामक व्यापार गर्ने देखिन्छन्। यससँगै बजारमा चर्चा सुरु भएको छ कि ‘कबड्डी’ र ‘लुट’सिरिज बाहेक अन्य चलचित्रमा सौगात चल्न सकेनन्।
बजारमा चलेको यो हल्लालाई सौगातले पनि स्वीकार गरेका छन्।
उनले भनेका छन् ‘मलाई मिलाएर उत्तर दिन आउँदैन। म अन्य फिल्ममा औसत चलेको कुरा स्वीकार गर्छु। मैले काम गर्ने हो, रिजल्ट त मेरो हातमा मात्रै कहाँ हुन्छ र?’
Shares

प्रतिक्रिया