कला


जनगायक जीवन शर्मा पुरस्कृत

जनगायक जीवन शर्मा पुरस्कृत

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार २०:२५, काठमाडौँ

जनगायक जीवन शर्मा यहाँ स्थापित ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन्।

पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई रु. २० हजार राशिसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरे। 

सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए। पुरस्कार ग्रहणपछि बोल्दै शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताए। 

‘पुरस्कारले प्रेरणा र उर्जा थपेको छ’, उनले भने, ‘कुनै बेला हामीले गीत गाउँदा हत्कडी लगाइन्थ्यो, अहिले गलामा फूलको माला छ।’ 
सोही समारोहमा शर्माले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँ बसी...’ सुनाएका थिए।

बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मेका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय छन्। रक्तिम सांस्कृतिक अभियानका संस्थापकसमेत रहेका शर्माका ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’, ‘छेकेर छेकिन्न’ लगायतका गीत चर्चित छन्।

स्मृति कोषले भदौरे नाचको संरक्षण र उत्थानमा योगदान पुर्याएको भन्दै ज्ञानोदय बुद्ध बिहार बागलुङलाई पनि पुरस्कृत गरेको छ। रु. २० हजार राशिको उक्त पुरस्कार बिहारका अध्यक्ष लिलाम्बर बज्राचार्यलाई प्रदान गरिएको थियो।

कलाकार बाबुराम बज्राचार्य र उनकी धर्मपत्नी सरस्वती बज्रचार्यको स्मृतिमा उनका परिवारजनले विसं २०६६ मा स्मृति कोष खडा गरेका थिए। कोषबाट यसअघि मूर्तिकार ओम खत्री, कलाकार विक्रम श्रेष्ठ, लक्ष्मण शाक्यलगायत पुरस्कृत भइसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad