मोडल नीति शाह ठूलो पर्दाको हिरोइन बन्ने बाटोमा छिन्। केही फिल्मका कथा पढिरहेकी नीति फिल्ममा आउन उत्साहित देखिएकी छिन्।
निराजन गिरीलाई म्यानेजरमा नियुक्त गरेर फिल्मका कथा पढिरहेकी नीति कुन फिल्मबाट कसका साथमा पर्दामा आउँछिन् भन्ने कसैलाई थाहा छैन।
बजारमा भने बेलाबेला विभिन्न हल्ला चलिरहन्छन्। केही समयअघि नीतिले अनमोलसँग काम गर्नका लागि उनका बुवा भुवन केसीलाई भेटेको खबर चर्चामा थियो। त्यहीताका ‘जेरी २’का लागि नीतिलाई अफर आएको चर्चा थियो।
तर आफूलाई ‘जेरी २’का लागि अफर नआएको स्पष्ट पारेकी छिन्। उक्त फिल्मबाट अफर आएको खण्डमा आफू काम गर्न तयार रहेको नीतिले बताएकी छिन्।
बौद्धमा हालै सुरु भएको ‘रेड मड कफी’को नयाँ शाखाको उद्घाटन गर्न पुगेकी नीतिले फिल्ममा आउँने तयारी गरिरहेको भए पनि जस्तो पायो त्यस्तो फिल्ममा काम नगर्ने बताएकी छिन्।
उनले भनिन् ‘दर्शकको अपेक्षालाई कमजोर बन्न दिनु हुँदैन। यसैले काम गर्ने भनेर हाम फालिहाल्न पनि भएन। म तयारी गर्दै छु।’
केही समयअघि अनमोल केसीसँग फिल्म खेल्नका लागि भुवन केसीलाई भेटेको प्रसंगमा नीतिले आफूलाई अनमोल मन पर्ने बताइन्।
अनमोलसँग स्कुल पढेकी नीतिले अनमोलको नरम व्यवहार आफूलाई मन पर्ने तर्क पेश गर्दै भनिन् ‘अनमोल र म एउटै स्कुलमा पढेका हौँ। त्यसैले उनलाई राम्रोसँग चिन्छु। उनको नरम बानी मलाई मन पर्छ।’
Shares

प्रतिक्रिया