कोरोना कालपछि निर्माण भएका नेपाली फिल्मले तारिफ पाइरहेका छन्।
रिलिज भएका फिल्मले खासै राम्रो कमाइ गर्न नसके पनि समीक्षा भने राम्रो पाइरहेका छन्। प्रदर्शन हुन बाँकी फिल्मले उद्योगमा आशा जगाएका छन्।
यस्तै आशा जगाउने फिल्म मध्येको एउटा हो ‘प्रकाश’। यो फिल्मको पोस्टरलाई लिएर अहिले बजारमा निकै चर्चा छ। विशेषगरी यो फिल्मका शीर्ष कलाकार प्रदीप खड्काको खुलेर प्रशंसा भइरहेको छ।
उनले यो फिल्मको क्यारेक्टरमा आफूलाई ढाल्न मिहिनेत गरेको पनि बताउँदै आएका छन्। प्रेमकथाका फिल्मबाट दर्शकको मन जित्न सफल प्रदीप यही फिल्म मार्फत फरक भूमिकामा देखिँदैछन्। प्रदीप यो फिल्ममा जुम्लाको युवाको भूमिकामा देखिँदैछन्।
शिक्षक बन्ने सपना बोकेको गाउँले युवाको भूमिकामा देखिने तयारीमा रहेका प्रदीप फिल्मका पोस्टरबाटै दर्शकको मन जित्न सफल भएका छन्। उनको यो फिल्म आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा छ।
फिल्म युनिटले प्रदीपका दुई पोस्टर सार्वजनिक गरेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको दुवै पोस्टरमा प्रदीपलाई हलीको रुपमा प्रस्तुत गरिएको छ। पोस्टरमा प्रदीपलाई हलो जोतिरहेको देख्न सकिन्छ।
यो फिल्ममा प्रदीपका साथमा दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया