नेपाली चलचित्र उद्योगमा कुन फिल्म पहिलो भन्ने विवाद लामो समयदेखि जारी थियो। विसं २०२२ मा प्रदर्शन गरिएको ‘आमा’ र २००६ मा प्रदर्शन भएको ‘हरिशचन्द्र’बीच कुन पहिलो भन्ने विवाद थियो।
अब भने यो विवाद आधिकारिक रुपमा टुंगिएको छ। चलचित्र विकास बोर्डले ‘आमा’लाई नेपालको पहिलो चलचित्रको मान्यता दिएको हाे।
बोर्डले आफ्नो आधिकारिक वेबसाइटमा विसं २०२२ मा प्रदर्शनमा आएको ‘आमा’लाई पहिलो नेपाली फिल्म भनेर राखेको छ।
डीबी परियारले निर्देशन गरेको ‘हरिशचन्द्र’ भारतमा बनेको नेपाली भाषी फिल्म भएकाले यसलाई पहिलो नेपाली फिल्म भन्न नमिल्ने तर्क फिल्मी विज्ञहरुको थियो। कोलकाताको रुपश्री सुटिङ स्टुडिओमा निर्माण भएको ‘हरिशचन्द्र’ नेपालमा नबनेकाले नेपालीभाषी मात्रै भन्नुपर्ने उनीहरुको जिकिर थियो।
कुन फिल्म पहिलो भन्ने विवादमा तत्कालीन चलचित्र निर्देशक समाजले सञ्चार मन्त्रालयलाई पहिलो नेपाली फिल्मको आधिकारिता माग्दै पत्र पनि लेखेको थियो। यस विषयमा मन्त्रालयले भने कुनै जवाफ दिएको छैन। यही विवादकाबीच चलचित्र विकास बोर्डले पहिलाे नेपाली फिल्मको मान्यता ‘आमा’लाई दिएको हाे।
विसं २०२२ मा प्रदर्शनमा आएको ‘आमा’ भारतीय निर्देशक हिरासिंह खत्रीले निर्देशन गरेका थिए। तत्कालीन पञ्चायती शासनको प्रचारका लागि सरकारको प्रचार विभागले निर्माण गरेको ‘आमा’मा भुवन चन्द, शिवशंकर मानन्धर, चैत्यदेवी, बसुन्धरा भुसाललगायत कलाकारले अभिनय गरेका थिए।
Shares

प्रतिक्रिया