कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपालले लामो समय सँगै काम गरे। उनीहरुले सँगै गरेका र सफल भएका थुप्रै प्रोजेक्ट छन्। कलाकारितामा संघर्ष गर्दादेखिको उनीहरुको सहयात्रा केही वर्षअघि भने टुङ्गियो।
सम्बन्धमा चिसोपना आएपछि यी कलाकारले आफ्नो सम्बन्ध ठीकठाक रहेको देखाउन अनेक उपाय अपनाएका छन्। दीपक–दीपाको नयाँ फिल्मको मुहूर्त कार्यक्रममा पनि यही दृश्य दोहोरियो। दीपक–दीपाको फिल्मबाट निकालिएका जितु नेपाल उनीहरुलाई शुभकामना दिन पुगे।
दीपक–दीपाले भक्तपुरको सूर्यविनायक मन्दिरमा ‘छक्का पन्जा ४’ शुभसाइत गरे। जितु त्यही हातमा फूलको बुके बोकेर उनीहरुलाई शुभकामना दिन पुगे। उनले फिल्मको सफलताको कामना गरे। फिल्ममा आफू रहनु र नरहनुले कुनै अर्थ नराख्ने भन्दै जितुले टिमसँग आफ्नो सम्बन्ध फिल्मका लागि मात्रै नभएको बताए।
दीपकले पनि जितुसँगको सम्बन्ध नबिग्रिएको दाबी गरे। उनले यो प्रोजेक्टमा भने जितु नदेखिने स्वीकार गरे। फिल्ममा सहकार्य हुनेबित्तिकै सम्बन्ध सकिएको भनेर बुझ्न नहुने उनको तर्क थियो। दीपकले पनि जितुकै शैलीमा आफूहरुको सम्बन्ध एउटा फिल्मका लागि मात्रै नबनेको जिकिर गरे।
तर फिल्मका कार्यकारी निर्माता समेत रहेका केदार घिमिरेले जितुलाई फिल्मको एउटा गीतमा मात्रै भए पनि समेट्न खोज्दा दीपकले नमानेको बताइन्छ। दीपक–दीपाको ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म जितुले मुख्य कलाकारका रुपमा काम गरेका थिए।
Shares

प्रतिक्रिया