ad ad

कला


स्रोता-दर्शकलाई निराश पारिन् विष्णु माझीले

स्रोता-दर्शकलाई निराश पारिन् विष्णु माझीले

नेपालखबर
साउन २६, २०७९ बिहिबार ८:२१, काठमाडौँ

विष्णु माझी नेपाली संगीत उद्योगकी रहस्यमयी गायिका हुन्। समय-समयमा गीतमार्फत उद्योगमा उपस्थिति जनाउने विष्णुलाई उनका शुभचिन्तकले देख्न नपाएको लामो समय भयो। त्यसैले पनि उद्योगमा उनका गीत पर्खिएर बस्नेको संख्या ठूलो छ। 

तीज गीतको मामिलामा विष्णुलाई कुर्ने स्रोता अझै धेरै छन्। धेरैले विष्णुको गीत नआउँदासम्म तीज आएको महसुस नै नहुने बताइरहेका छन्। तर यस वर्ष विष्णुको तीज गीतले भने स्रोतालाई त्यति धेरै सन्तुष्टि दिन सकेन। 

अघिल्लो वर्ष विष्णुको तीज गीत ‘चरी जेलैमा’मा निक्कै लोकप्रियता पायो। धेरैले यो गीतसँग विष्णुको जीवनलाई जोडेर हेरे। धेरैले मन पराए। यो वर्ष विष्णुको आवाजमा पोहोरकै गीतको फ्लेबरमा ‘चरी जेलैमा २’ सार्वजनिक भयो।

विष्णुको गीत पर्खिएर बसेकी गृहणी रुपा आचार्यलाई यसले छुन सकेन। पुरानै स्वादको भएकाले अघिल्लो वर्षको जस्तो यो गीतले खासै छुन नसकेको उनी बताउँछिन्। 

सार्वजनिक गीत उनका श्रीमान् सुन्दरमणि अधिकारीले लेखेका हुन्। गीतमा संगीत पनि अधिकारीकै हाे।

विनोद बाजुरालीको संगीत संयोजन रहेको गीत अघिल्लो वर्षकै लयमा सार्वजनिक गरिएको हाे। गीतमा समावेश केही शब्द पनि अघिल्लो वर्षकै सुन्न सकिन्छ। 

गीतको म्युजिक भिडिओ पनि पुरानै शैलीको छ। भिडियोमा अघिल्लो वर्षकै मोडल ललिता पौड्यालले अभिनय गरेकी छन्। विष्णुका अधिकतर गीतमा ललिताले नै अभिनय गरेकी छन्। 

शिव विकको कोरियोग्राफी रहेको भिडिओ निर्देशन एवम् निर्माण सुन्दरमणिले नै गरेका हुन्।

सार्वजनिक गीतमा तीज संस्कृतिको अन्तर्य भने झल्काउन सुन्दरमणि सफल देखिएका छन्। उनले खराब श्रीमान् पर्दा विवाहित छोरीले भोग्नुपर्ने पीडालाई गीतमा प्रस्तुत गरेका छन्। ‘चरी जेलैमा’ पनि यहि कथावस्तु समेटिएको थियो। शम्भु चालिसेको छायांकन रहेको भिडिओ सुजन शाहीले सम्पादन गरेका हुन्। 

पछिल्लो समय गीत रिलिजअघि कलाकारले पोस्टर र टिजर नै बनाएर सार्वजनिक गर्ने गरेका छन्।

कन्सेप्टदेखि लेखन, गायन सबै समयको अपडेट गराउने गरेका छन्। तर विष्णुको गीत भने बजारमा सार्वजनिक भएपछि मात्रै थाहा हुन्छ। त्यसैले धैरेले उनको गीतलाई भूकम्पको संज्ञा दिने गरेका छन्। 

१८ वर्षदेखि ‘पुलतीको भट्टी’का सिरिजका रुपमा तीज गीत सार्वजनिक गरिरहेकी विष्णुको अघिल्लो वर्षको ‘चरी जेलैमा’ सबैभन्दा धेरै हिट भयो। उक्त गीतका शब्द र संगीतले धेरैको ध्यान तानेको थियो। अर्को गीतलाई विष्णुकै जीवनसँग जोडेर स्रोता-दर्शकले हेरेका थिए। यो वर्ष पनि विष्णुको गीतले चर्चा पाउने संकेत देखाएको छ। तर सुन्दरमणिले ‘चरी जेलैमा’को ब्याज खान खोजेको भनेर धेरैले आलोचना पनि सुरु गरेका छन्। 

पुरानै लयमा सार्वजनिक भएका कारण शब्दमा रहेको गम्भीरता पनि मर्न सक्ने स्रोताहरुले प्रतिक्रिया जनाइरहेका छन्। संगीतमा नयाँ प्रयोग नहुँदा दर्शक र स्राेताले नयाँपन महसुस गर्न नसकेको प्रतिक्रिया दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .