कला


सहरमा पढ्न चाहने किशोरीको सपना ‘ऐना झ्यालको पुतली’ (ट्रेलर)

सहरमा पढ्न चाहने किशोरीको सपना ‘ऐना झ्यालको पुतली’ (ट्रेलर)

नेपालखबर
साउन ३०, २०७९ सोमबार ११:३३, काठमाडौँ

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ।

ट्रेलरले दिदीभाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गरेको छ। फिल्म भदौ २४ मा सार्वजनिक हुँदै छ।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अस्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनाेट भइसकेको फिल्म हो। बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो।

लेखक/निर्देशकका रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु  हो। सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो।

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ। तर जतिचोटि उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ।

सुजितले किशोरीको पढ्ने सपनालाई  ऐनाजस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए।

‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन। हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ’, सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ तर हरेकपटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ। यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्छौं।’

किशोरी र उनको ९ वर्षको भाइबीचको बालसुलभ सम्बन्ध पनि फिल्मको रोचक पक्ष रहेको सुजितले बताए।

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन्। 

आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र  सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्।  फिल्ममा  अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पासंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad