रेखा थापाको ‘हिम्मतवाली’ मार्फत फिल्म उद्योगमा देखापरेका थिए- सुदर्शन गाैतम। दुर्घटनामा दुवै हात गुमाएका सुदर्शनको हिम्मतको त्यो समय निकै चर्चा भएको थियो।
रेखा र सुदर्शनको सहकार्य लामो समय जारी रहने धेरैले अनुमान गरेका थिए। तर त्यस्ताे भएन।
दुई वर्षअघि सुदर्शन मानव तस्करीमा जोडिएको खबर सार्वजनिक भयो। उनले फिल्म सुटिङका लागि भन्दै नेपाली युवतीलाई तस्करीको बाटोबाट अमेरिका पुर्याउने गरेको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढायो।
त्यतिबेला सुदर्शन क्यानडा पुगिसेकेका थिए। उनी नेपाली मूलका विदेशी नागरिक हुन्। सुदर्शन क्यानडानै बस्छन्।
प्रहरीले अनुसन्धान थालेपछि पनि सुदर्शन नेपाल आएनन्। प्रहरीले जिल्ला अदालतमार्फत पक्राउ आदेश लिएर इन्टरपोलबाट अन्तर्राष्ट्रिय पक्राउ आदेश जारी गराएको थियो। तर उनी अहिलेसम्म पक्राउ परेका छैनन्।
उनी नेपाल आएर अदालतमा उपस्थित भएको खबर पनि छैन। तर सुदर्शनले नेपाली फिल्ममा खेल्ने खबर भने सार्वजनिक भएको छ।
उनले नेपालका पछिल्लो पुस्ताका स्टार कलाकार अनमोल केसीसँग स्क्रिन सेयर गर्ने भएका छन्।
फिल्म ‘एक्स ९’मा सुदर्शनले अभिनयका लागि औपचारिक सम्झौता गरेको बताइएको छ। फिल्म निर्माता मुकुन्द भट्टले क्यानडा पुगी भेटेरै उनलाई फिल्ममा साइन गराएका हुन्।
भट्ट फिल्म छायांकनको प्रबन्ध मिलाउन अहिले क्यानडामै छन्।
यो फिल्मको केही प्रतिशत छायांकन क्यानडामै हुने बताइएको छ। क्यानडामा छायांकन हुने दृश्यमा सुदर्शनलाई देखाउने निर्माताको तयारी छ।
Shares

प्रतिक्रिया