अभिनेत्री पूजा शर्मा र आँचल शर्मा बक्स अफिसमा भिड्ने तयारीमा छन्। यी दुई अभिनेत्रीको सम्बन्धबारे बेलाबेला उद्योगमा गसिपसमेत बन्ने गरेका छन्। पूजा र आँचल एकअर्कासँग खुलेर बोल्दैनन्। यी दुई अभिनेत्रीबीचको शीतयुद्ध मनोरञ्जन उद्योगमा स्पष्ट देखिन्छ।
आफ्नै ब्यानरमा फिल्ममा मात्रै सफल भएकी पूजा उद्योगमा सफल अभिनेत्रीको सूचीमा पर्छिन्। ठूला ब्यानरका चलचित्रमार्फत पर्दामा आएकी आँचल औसत अभिनेत्रीमा पर्छिन्। पूजा र आँचल अभिनित दुई फिल्म एकैदिन रिलिज हुने भएपछि धेरैले यसलाई उनीहरुको स्टारडम भिडन्तका रुपमा हरेका छन्।
आउँदो भदौ १७ बाट पूजाको ‘सम्हालिन्छ कहिले मन’ तथा आँचलको ‘झिंगेदाउ’ रिलिज हुँदै छन्। अहिले पूजा र आँचल दुवै आआफ्ना फिल्म प्रचारमा लागेका छन्। पूजाले रोएर फिल्म नचलाउँने बताइरहँदा आँचलले भने पूजालाई कटाक्ष गरेकी छन्।
महँगी अभिनेत्रीको सूचीमा परेकी पूजाको केही साताअघि चलेको ‘सम्झना बिर्सना’ बक्स अफिसमा सफल हुन सकेन। यो फिल्मका लागि पूजाले २० लाख पारिश्रमिक लिएको खबर निकै चर्चामा थियो।
फिल्मको व्यापारले पूजाको स्टारडममा प्रश्न खडा गरिरहेका बेला आँचलले कलाकारको पारिश्रमिकले फिल्म नचल्ने तर्क गरेकी छन्। उनले फिल्म चल्न फिल्म नै राम्रो हुनु पर्ने बताएकी छन्।
आफ्नो फिल्म ‘झिंगेदाउ’ प्रचारका क्रममा आँचलले भनेकी छन् ‘महँगाे पारिश्रमिक लिनेको फिल्म पनि आएकै हो। कलाकारले गर्दा फिल्म चल्ने वा नचल्ने भन्ने कुरा सेकेन्डरी हो। फिल्म चल्न आफैंमा राम्रो हुनुपर्छ। धेरै राम्रा भनिएका कलाकारका फिल्म किन असफल भए? फिल्म नै राम्रो नभएर हो।’
आँचलले आफू अभिनित फिल्मसँग जुधेको फिल्म पनि चलोस् भन्ने कामना गरेकी छन्। भनेकी छन्, ‘हामी दुवैको फिल्म राम्रो भए समग्रमा फिल्म क्षेत्रलाई राम्रो हुन्छ। बलिउड र हलिउडसँग जुध्नुभन्दा नेपालीसँगै जुध्नु राम्रो हो।’
आफ्नो फिल्मप्रति आँचल निक्कै आशावादी देखिन्छिन्। उनले आफ्नो प्रोडक्सन, फिल्मको कथावस्तु र विषयमा विश्वस्त रहेको सुनाइन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार ‘झिंगेदाउ’ भीमनिधि तिवारीको कृतिमा आधारित छ। यो फिल्ममा आँचलसँगै केकी अधिकारी, मुकुन भुसाललगायतका कलाकार देखिने छन्।
उता फिल्म ‘सम्झना बिर्सना’मा पूजासँग आकाश श्रेष्ठ देखिने छन्।
Shares

प्रतिक्रिया