फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ। प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिए। प्रिमियर शोमा फिल्म हेर्न ‘महापुरुष’ टोलीसँगै दीपकराज गिरी, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, केकी अधिकारी, बेनिषा हमाल, निश्चल बस्नेत, स्वस्तिमा खड्कालगायत सेलिब्रेटी पुगेका थिए।
प्रिमियर हेरिसकेपछि अभिनेता खगेन्द्र लामिछानेले कथा र विषयवस्तुको उच्च प्रशंसा गरे। ‘बाहरुको कथामा आधारित फिल्ममा इमोसन, कमेडी, सन्देश सबै छ। यो सबै उमेर समूहका दर्शकलाई हुने बनेको छ। परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो फिल्मले देखाएको छ’, उनले भने। अभिनेत्री स्वस्तिमा खड्काले सम्पूर्ण पक्ष राम्रो रहेको भन्दै तारिफ गरे। ‘यहाँ विकल्प रहने अवस्था नै थिएँ। जसले जुन भूमिका निर्वाह गर्नुभएको छ, पर्फेक्ट कास्टिङ छ’, उनले भने।
भाइटीकाको भोलिपल्टबाट सार्वजनिक प्रदर्शनमा आउने ‘महापुरुष’ हेरेपछि हास्यकलाकार किरण केसीले अहिलेसम्मकै उत्कृष्ट भन्दै तारिफ गरे।
‘हरिवंशले निर्वाह गर्नुभएको भूमिका जीवन्त छ। बाँकी कलाकारहरूले पनि दर्शकसँग जोडिने भूमिका निर्वाह गरेका छन्। यो फिल्म सम्पूर्ण परिवार एकैसाथ बसेर हेर्नुपर्ने बनेको छ’, उनले भने।
निर्देशक निश्चल बस्नेतले फिल्मको विषय र पटकथा निकै बलियो रहेको प्रतिक्रिया दिए। ‘फिल्म कस्तो लाग्यो भन्ने मेरो अनुहारमै देखिएको जस्तो लाग्छ। हरि दाइलाई धेरै समयपश्चात् यस किसिमको भूमिकामा देख्न पाएँ। मदन दाइ समेतलाई ठूलो पर्दामा हेर्न पाउँदा धन्य छु’, उनले भने।
अभिनेत्री केकी अधिकारीले फिल्म हेरिसकेपछि आफ्नो अभिभावकका बारेमा सोचेको बताए। ‘हाम्रो अभिभावकको सम्बन्धलाई सहजै स्वीकार्न सक्दैनौँ। त्यो सही गरिरहेका छौँ कि गलत भन्ने सोच्न बाध्य बनाउँछ। फिल्ममा गम्भीर विषयलाई मनोरञ्जनात्मक शैलीमा भनिएको छ’, उनले भने। अर्की अभिनेत्री बेनिषा हमालले फिल्म नहेर्ने दर्शक पछुताउने प्रतिक्रिया दिए।
प्रिमियरमा पाहुनाहरुबाट प्राप्त प्रतिक्रियाले हास्यकलाकार हरिवंश आचार्यले ऊर्जा प्राप्त भएको बताए। ‘हाम्रो मेहनतको फल लिँदैछौँ। सबैले विषयसँगै प्रस्तुति मन पराउनुभएको छ। हामीले उठान गरेको विषयले सामान्य प्रभाव छाड्यो भने पनि हाम्रो जीत हुनेछ’, उनले भने।
फिल्ममा अभिनेता आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, रवीन्द्र सिंह बानियाँसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली छन्।
एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ। षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन्। षट्कोण आर्ट्सले यसअघि टलकजङ्ग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ।
Shares

प्रतिक्रिया