ad ad

कला


थापा र गुरुङलाई ‘नारायण गोपाल स्मृति सम्मान’

थापा र गुरुङलाई ‘नारायण गोपाल स्मृति सम्मान’

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १२:९, काठमाडौँ

‘नारायण गोपाल स्मृति सम्मान–२०७९’ गीतकार राजेन्द्र थापा र गायक तथा संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको छ। नरायण गोपाल संगीत कोषले स्वर सम्राट नारायण गोपालको ३२औं स्मृति दिवसको अवसर पारेर थापा र गुरुङलाई पुरस्कार दिएको हो। 

हरेक वर्ष मंसिर १९ मा हुने गरेको पुरस्कार वितरण समारोह यसपटक जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरियो। थापा र गुरुङलाई सम्मानपत्रसहित जनही २५ हजार रुपैयाँ नगद प्रदान गरिएको हो।

वरिष्ठ गीतकार थापाका ‘यसपालि त मनै फाट्यो’, ‘पर लैजाउ फूलहरू’ लगायतका गीत कालजयी छन्। पाँच दशकभन्दा लामो समयदेखि गीत/संगीत क्षेत्रमा लागेका थापा अहिले पनि यसमा सक्रिय छन्। 

गीतकार थापाले नारायण गोपालको स्मरण गर्दै उनको व्यक्तिगत जीवनका पक्षमा जति पनि विषय बाहिर आएका छन, त्यो भन्दा बढी उनको सांगीतिक जीवनको खोजी गर्नुपर्ने बताए।

भने, ‘नारायण गोपालको गायन पक्षको अध्ययन नै भएन। उहाँले जुनसुकै गीतकारको गीत गाए पनि राम्रो भयो। उहाँका जस्तो पनि गीत मान्छेले मन पराए। यसको अध्ययन हुनुपर्छ।’ 

सम्मानित गायक गुरुङले स्कुले जीवनदेखि नै गोपाल योञ्जनमार्फत नारायण गोपालसँगको भेट र संगीतमा सहकार्य गर्ने अवसर पाएको स्मरण गरे। उनले भने, ‘चर्चाले मात्र मानिस बाँच्न सक्दैन। साधनामा लागेका मान्छेलाई राज्यले कति गर्‍यो र कति गर्न सक्छ भन्ने मूल कुरा हो।’

कार्यक्रममा अन्नपूर्ण चेम्बर अर्केस्ट्राले प्रस्तुत गरेको ‘वृन्दवादन सांगीतिक समारोह’मा नारायण गोपाल, गीतकार थापा, संगीतकार गुरुङका ‘ए मलाई माया गर्छु भन्ने हजुर’, ‘मेरो प्यारो ओखलढुंगा’, ‘पोहोर साल’, ‘बोल बोल पाखाहरु’लगायतका गीत ३४ जना अर्केस्ट्रा समूहको धुनसँगै प्रस्तुत गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .