अभिनेता विपिन कार्कीको चर्चित चरित्र ‘भस्मे डन’मा चलचित्र बन्ने भएको छ। बक्स अफिसको सफल फिल्म ‘पशुपतिप्रसाद’मा विपिनले निर्वाह गरेको ‘भस्मे डन’को भूमिका निकै हिट भएको थियो। यही चरित्रले विपिनलाई नेपाली फिल्म उद्योगमा स्थापित गरेको भन्दा फरक पर्दैन।
विपिनको यही क्यारेक्टरको नाममा फिल्म निर्माणको घोषणा भएको हो। यो फिल्म निर्देशनमा दीपेन्द्र के खनालसँग अभिनेता खगेन्द्र लामिछानेले सहकार्य गर्ने छन्। फिल्ममा लगानी पनि दीपेन्द्र र खगेन्द्रले सयुक्त रुपमा गर्ने भएका छन्।
खगेन्द्रले पटकथा लेखिरकेको ‘भस्मे डन’मा विपिन कार्की नै प्रमुख भूमिकामा देखिने छन्। ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रवीन्द्र सिंह बाँनिया पनि यो फिल्ममा देखिने छन्।
फिल्मबारे दीपेन्द्र भन्छन्, ‘पटकथाको पहिलो ड्राफ्ट लेखन सकिएको छ, जुन पढ्दा मजा आयो। सेलिब्रेटेड क्यारेक्टरलाई दर्शकले रुचाउने लागेर हामीले फिल्म निर्माणलाई अघि बढाउन लागेका हौँ।’
पशुपतिप्रसादमा भस्मे डनको कथा जहाँनिर सकिएको थियो त्यहीँबाट उसको आगामी यात्राको कथा ‘भस्मे डन’मा समिटिने दीपेन्द्रले बताए।
यो फिल्म सफागुनको पहिलो साता छायांकनमा जाने छ। फिल्म आगामी दसैंमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य छ।
Shares

प्रतिक्रिया