ad ad

कला


वीरेन्द्रनगरमा १५ वर्षपछि मानवताका लागि गुञ्जियो ‘नेपथ्य’

वीरेन्द्रनगरमा १५ वर्षपछि मानवताका लागि गुञ्जियो ‘नेपथ्य’

नेपालखबर
पुस ७, २०७९ बिहिबार ८:४४, काठमाडौँ

तराइका फाँटहरुबाट उक्लेर थोरै माथि कर्णाली प्रदेश आइपुगेको नेपथ्यलाई वीरेन्द्रनगर सुर्खेतका बासिन्दाले स्वागत गरेका छन्। ‘मानवताका लागि संगीत’ अभियानका साथ विशाल टोली लिएर मुलुकको यात्रामा निस्केको लोकरक ब्याण्ड नेपथ्यको यस श्रृंखलाको सातौं प्रस्तुति थियो।

बुधबार बेलुकी ४ बजेदेखि गेट खुला भएदेखि ६ नबज्दै  वीरेन्द्रनग–७ मा रहेको खुलामञ्चमा दर्शकहरुको उल्लेख्य उपस्थिती जुटिसकेको थियो। 

नेपथ्यले यसअघि अघिल्लोपटक धनगढीमा जस्तै यहाँ पनि ब्याण्डले पहिलो गीतका रुपमा ‘आँगनै भरि’बाट दर्शकहरुलाई स्वागत ग¥यो। 

नेपथ्यको इतिहासकै पहिलो रचना ‘आँगनै भरि’ को प्रस्तुतिबाट कार्यक्रम सुरु भएको थियो। 

मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो। 

गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरि दृश्यहरुको संयोजन गरिएको थियो। कन्सर्टमा  ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो देउराली डाँडा’ लगायतका गीतको प्रस्तुति रहेको थियो।

‘हामीलाई सुन्न यहाँ उपस्थित हुनुभएका तपाईं सबैजनालाई स्वागत छ,’ अमृत गुरुङले  गीतको साटो संवादको थालनी गरे, ‘हामीबीच यसरी भेटघाटको जोग जुराइदिने आयोजक मानवसेवा आश्रमलाई धेरै धेरै धन्यवाद छ है।’ 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपथ्य १५ वर्षपछि प्रस्तुत भएको हो। 

यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सुर्खेत आएको थियो। त्यतिबेला भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट आयोजित थियो। 

‘यति लामो अन्तरालपछि नेपथ्य यहाँ आएको छ,’ अमृतले भने, ‘तपाइहरुले यस्तरी माया गर्नुहुन्छ भन्ने थाहा भइदिए अलि पहिल्यै आउने थियौं।’ 

उनले धौलागिरि भेगको त्यस गीतमा देखिएको लालीगुराँसका दृश्यहरु सुर्खेत माथिको  दैलेखको गुराँसे लेकमा पनि देखिने बयान गर्दा स्थानीय दर्शकहरु असाध्यै रमाएका थिए। ‘तर, हिजोआज यस्तरी फुलेका गुराँस टिपेर शिरमा लगाइदिने तन्नेरीहरु छैनन्,’ उनले थपे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दै छ।’ यति भनेपछि उनले लाहुरेहरुबाटै आएको गीत ‘नैनाताल’ सुनाए। 

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा सुर्खेती दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो। त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थाले। 

‘भर्खरै चुनाव सकिएको छ। घर–घर विभाजित भएको छ। तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ। हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ। हामीले गाउँ गाउँमा अस्पताल पु¥याउनका निम्ति जोडिनै पर्छ।’ धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो। 

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो। 

हाल सुर्खेतस्थित आश्रमको संरक्षणमा घरपरिवार गुमाएका ४२ पुरुष, २९ महिला र ४ जना बालबालिका गरेर ७५ जनाले सेवा लिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .