एक समयकी हिट अभिनेत्री हुन् - विपना थापा। उनले थुप्रै नेपाली हिट फिल्ममा अभिनय गरेकी छन्। तर विपनालाई उनका फ्यानले सिनेमामा हेर्न नपाएको १३ वर्ष बितिसक्यो।
अब भने उनका फ्यानका लागि खुसीको खबर छ। १३ वर्षको अन्तरालपछि उनी नेपाली फिल्ममा फर्किने तयारीमा छिन्। राम्रो अफर आए फिल्ममा फर्किने बताउने गरेकी विपनालाई पछिल्लो पुस्ताकी अभिनेत्री नीता ढुंगानाले फिल्ममा फर्काउने भएकी हुन्।
नीताको फिल्म ‘ह्रस्वदीर्घ’मा विपना अनुबन्ध भएकी छन्। विपना यो फिल्मको लिड क्यारेक्टरमा देखिने बताइएको छ। विपनासँग औपचारिक सम्झौता गरेको नीताले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्।
विपनाले अभिनय गरेको पछिल्लो फिल्म सन् २०१० मा रिलिज भएको थियो। ‘संघर्ष जिन्दगीको’मा काम गरेर फिल्म उद्योगबाट टाढिएकी विपना पछिल्लो समय भारतको कोलकातास्थित घरमा बस्छिन्। उनले भारतिय नागरिकसँग विवाहपछि फिल्म उद्योग छाडेकी हुन्।
विपनालाई अनलाइनमार्फत नै फिल्मका लागि अनुबन्धित गरेको फिल्मका निर्देशक चन्द्र पन्तले बताएका छन्। उनी भन्छन्, ‘हामीलाई बलियो पात्रको आवश्यकता थियो, त्यो रोलमा विपनाजीलाई लिने निश्चित भयो। अनलाइनबाटै लिखित सम्झौता गरेका छौँ।’
फिल्मका लागि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्दलगायत नेपाली र केही भारतीय कलाकार यसअघि नै फाइनल भइसकेका छन्।
उक्त फिल्म फेब्रुअरी १ देखि छायांकनमा जाने छ।
Shares

प्रतिक्रिया